पोखरा– नेपाली कांग्रेसको शनिबार गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीले नेताहरुबीच घनीभूत संवाद गरी ‘एकता सन्देश’ दिन विलम्ब नगर्न आग्रह गरेको छ। त्यसका लागि पार्टी सभापति गगनकुमार थापा, नेताहरु पूर्णबहादुर खड्का र डा. शेखर कोइरालालगायत अन्य नेताहरुसमेतलाई आग्रह गर्ने निर्णय गरेको छ।
१५ जेठसम्म निकास ननिकालेमा महासमितिको बैठक बसी समाधान निकाल्न आह्वान गर्नेसहितका विभिन्न ९ बुँदे निर्णय भेलाले गरेको छ।
आन्तरिक विवाद अन्त्य गर्ने उद्देश्यसहित सभापति गगन थापाइतरका काँग्रेसका अगुवा कार्यकर्ताहरुको पोखरामा गण्डकी प्रदेशस्तरीय भेला बसेको हो।
भेला संयोजक एवं कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठले पार्टी विभाजनभन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने गरी भेला भएको दाबी गरे। गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका नेता श्रेष्ठको पहलमा भएको भेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कांग्रेस अगुवा कार्यकर्ता सहभागी थिए।
भेलालाई कांग्रेस शशांक कोइरालालगायत नेताले सम्बोधन गरेका थिए।
भेलाले पार्टीभित्र अन्यायपूर्ण गतिविधि सञ्चालन नगर्न र भातृ संस्थालाई तदर्थवादका रुपमा मात्र सञ्चालन गर्ने परिपाटीको अन्त्य गर्न आग्रह गरेको छ।
यस्तै, सभापति थापाले प्रतिशोध पूर्ण ढंगले राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र भातृसंस्था केन्द्रीय समिति विघटन गरेको कार्यको विरोध गरेको छ।
गत २१ फागुनको आमनिर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसक्नुमा पार्टीको नेताहरुबीच सहमतिबेगर विशेष महाधिवेशन र उम्मेदवारी चयन हुनु प्रमुख कारण रहेको निष्कर्ष निकालिएको छ।
बैठकले मुलुकको विषम परिस्थितिमा कांग्रेसभित्र निरन्तर द्वन्द्व हुनुले पार्टीमा पाका र युवा नेताहरुको नेतृत्व क्षमतामा प्रश्न उठेको ठहर गर्दै आफूभित्रको सामान्य समस्या समाधान गर्न नसक्नेले कसरी मुलुकको समस्या समाधान गर्दछ भन्ने धारणा बनेको टिप्पणीसमेत गरेको छ।
बीपी कोइरालाबाट प्रतिपादित सिद्धान्त र आदर्शप्रति पार्टीको क्रियाकलाप विमुख हुँदै गएको भन्दै बीपीको विचारको सन्दर्भमा राष्ट्रव्यापी रुपमा बहस सञ्चालन गरी समानुकूल परिमार्जित र परिष्कृत सैद्धान्तिक दृष्टिकोण तय गर्नुपर्ने निर्णय भेलाले गरेको छ।
अल्पसूचना आधारमा सरकारले सुकुमबासी बस्तीहरुमा डोजर आतंक मच्चाएको ठहर गर्दै भेलाले त्यसको भत्सर्ना गरेको छ। संविधानप्रदत्त आवाससम्बन्धी मौलिक अधिकारको कार्यान्वयन गरी सुकुमबासीहरुलाई अविलम्ब आवास उपलब्ध गराउन माग गरेको छ।
भेलाले पार्टीका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री आरजू देउवाको पूर्ण स्वास्थ्य लाभको कामना पनि गरेको छ।
‘असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्छ’
पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिए। भेलालाई सम्बोधन गर्दै उनले आफूलाई कुनै पद नचाहिने बरु पार्टी एक हुनुपर्ने तर्क गरे।
उनले भने, ‘पार्टी बलियो भयो भने हामी बँच्छौं, पार्टी कमजोर भए हामी झनै कमजोर हुँदै जान्छौँ।’
उनले हतारिएर विशेष महाधिवेशनबाट गगन थापा सभापति बन्नु नहुने पनि बताए। बीपी कोइरालाले पनि विगतमा आफू प्रधानमन्त्री नभई सुवर्ण शमशेरलाई प्रधानमन्त्री प्रस्ताव गरेको उदाहरण दिँदै नेता कोइरालाले भने, ‘गगन थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति हुनुहुँदैनथ्यो।’
उनले विदेशी हस्तक्षेपका कारण लोकतन्त्र र राष्ट्रियता कमजोर हुँदै गएको पनि दाबी गरे। लोकतन्त्रप्रति विश्वास राख्ने पार्टी नेपाली कांग्रेसले वर्तमान संविधानको रक्षा गर्नु प्रमुख दायित्व रहेको बताउँदै उनले वर्तमान संविधानले देशभर रहेका सबै जातजाति भाषा, संस्कृतिलाई समेटेको बताए।
पूर्व केन्द्रीय सदस्य किरण पौडेलले पार्टीभित्र एकताको आवश्यकता महसुस भएको बताउँदै कांग्रेस नियमित महाधिवेशनको पक्षमा रहेकोमा एक्कासि विशेष महाधिवेशन गर्नु गलत भएको दाबी गरे।
पूर्वकेन्द्रीय सदस्य एवं गण्डकीका पूर्वमन्त्री सरस्वती अर्यालले पार्टीभित्रका दूरदर्शी नेतालाई पन्छाएर सभापति थापा अगाडि जान नमिल्ने तर्क गरिन्।
भेलामा पूर्वकेन्द्रीय सदस्यहरु गुरु बराल, भूपेन्द्र राय, केदार कार्की, मोहन बस्नेत, सीता देवकोटा लगायतका नेताले बोलेका थिए।
कांग्रेसमा गगन थापाइतर समूहले यस्तोखालको भेला यसअघि कोशी, बागमती र कर्णाली प्रदेशमा गरिसकेको छ।




