मधेशमा पनि चर्कियो सुकुम्बासी आन्दोलन

हिमाल प्रेस २५ वैशाख २०८३ १५:२० | Friday, May 8, 2026
12
SHARES
मधेशमा पनि चर्कियो सुकुम्बासी आन्दोलन

काठमाडौँ- सुकुम्बासी, भूमिहीन बासोबासी स्थलमा सरकारले क्रूरतापूर्वक डोजर लगाई उठिबास लगाएको भन्दै पछिल्लो केही दिनयता काठमाडौँमा निरन्तर प्रदर्शन भइरहेको छ।

विना कुनै विकल्प सरकारले डोजर लगाएर आफूहरूमाथि अन्याय गरेको भन्दै उनीहरूले प्रदर्शन गरिरहेका हुन्।

भूमि र आवास अधिकारको माग गर्दै सुकुम्बासीहरूको आन्दोलन पछिल्लो समय मधेशमा पनि चर्किएको छ। सरकारको निर्देशनमा स्थानीय तहहरूले आ–आफ्ना पालिकामा अतिक्रमणमा परेका सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन्।

शुक्रबार धनुषाको क्षिरेश्वर नगरपालिकास्थित महेन्द्रनगरमा सुकुम्बासीहरू सडकमा उत्रिएर जनकपुरधाम–ढल्केबर सडकखण्ड अवरूद्ध गरे।

क्षिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि प्रभावित स्थानीयवासीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले टायर बालेर सडक अवरूद्ध गरी प्रदर्शन गरेका थिए।

क्षिरेश्वरनाथ नगरपालिकाले गत सोमबार सूचना जारी गर्दै नेपाल सरकार गृह मन्त्रालयको २०८३ वैशाख १६ गतेको पत्रअनुसार नगरपालिका क्षेत्रभित्र वडा नम्बर १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा तथा अन्य संरचना सात दिनिभत्र खाली गर्न निर्देशन दिएको थियो।

तोकिएको अवधिभित्र अतिक्रमित क्षेत्र खाली नगरे सुरक्षाकर्मीको सहयोग हटाइने नगरपालिकाले चेतावनी दिएको छ। नगरपालिकाको सूचनापछि प्रभावित स्थानीयवासी वैकल्पिक बासोबासको व्यवस्था नगरी हटाउन खोजेको भन्दै आन्दोलित भएका हुन्।

त्यस्तै शुक्रबार नै रौतहटको फतुवा विजयपुरमा पनि प्रभावित स्थानीवासीहरूले प्रदर्शन गरेका छन्। सरकारले भूमि व्यवस्थापन नगरी जबरजस्ती खाली गराउन लागेको भन्दै उनीहरूले नगरपालिकाअगाडि विरोध प्रदर्शन गरेका थिए।

सिरहाको लहानमा पनि सरकारको यो निर्णयलाई विरोध गर्दै प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले आफूहरू बसिरहेको स्थान खाली गराउनअघि भूमि व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित: २५ वैशाख २०८३ १५:२० | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast