काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालसँग एकीकरण गर्ने निर्णय गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।
यसअघि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लडेर निर्वाचित हुँदै आएका ठाकुर यसपालि राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्न लागेका हुन्। उनी २०७४ र २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसको सहयोगमा महोत्तरी-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
फागुन २१ मा हुने प्रनितिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले आफ्नै उम्मेदवार उठाउने भएपछि ठाकुर राष्ट्रियसभा सदस्य निर्वाचनका लागि इच्छुक भएका हुन्। कांग्रेसले महोत्तरी-३ बाट पुराना नेता रामचन्द्र तिवारीलाई उम्मेवारको रूपमा सिफारिस गरेको छ। २०७४ सालमा कांग्रेसका तर्फबाट बजरंग नेपालीले उम्मेदवारी दिए पनि ठाकुरलाई सहज बनाउन पार्टी निर्देशनमा उनले उम्मेदवारी फिर्ता लिएका थिए।
त्यस्तै २०७९ सालको निर्वाचनमा गठबन्धनको बाँडफाटमा कांग्रेसले त्यो सिट ठाकुरलाई छोडेको थियो।
लोसपा अध्यक्ष ठाकुर कांग्रेससँगै सहकार्य गरेर राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन्। शुक्रबार बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा उनले यो जानकारी गराएका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने सहमति जुटेको ठाकुरले जानकारी गराएका थिए। ‘राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस र जसपा नेपालबीच दुई-दुई सिटमा सहकार्य भएको छ भन्ने जानकारी उहाँले गराउनुभएको छ। मधेशमा कांग्रेसले दुई र जसपा नेपालले दुई सिट दिने भन्ने समझदारी भएको उहाँले जानकारी गराउनुभएको छ,’ ती नेताले भने।
मोर्चाको बैठकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रियसभा निर्वाचनका लागि के कसो भइरहेको भनेर प्रश्न गरेका थिए। महतोको प्रश्नपछि ठाकुरले कांग्रेससँग सहकार्य गर्ने तयारी भइरहेको जानकारी गराएका थिए।
लोसपाका एक पदाधिकारीले पनि अध्यक्ष ठाकुर यसपालि राष्ट्रियसभा सदस्यमा चुनाव लड्ने लगभग पक्का रहेको बताए। ‘अध्यक्षज्यू यसपालि राष्ट्रियसभामा चुनाव लड्ने कुरा लगभग निश्चित भइसकेको छ,’ लोसपाका ती पदाधिकारीले भने, ‘अन्य प्रदेशमा जे जस्तो भए पनि मधेशमा कांग्रेससँग सहकार्य हुने पक्का छ।’
त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालबाट पनि राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न प्रस्ताव आएको जानकारी गराएका थिए। नेकपाका सहसंयोजक नेपालबाट सहकार्यका लागि प्रस्ताव आएको जानकारी गराउँदै उनले मोर्चामा छलफल गरेर मात्रै निष्कर्षमा पुग्ने आफूले बताएको उल्लेख गरेका थिए।
लोसपाका महासचिव मनिष मिश्रले पनि अध्यक्ष ठाकुरलाई राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न मोर्चाको तर्फबाट प्रस्ताव आएको जानकारी दिए।
‘प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ,’ मिश्रले भने,‘ठाकुरजीलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न मोर्चाको तर्फबाट प्रस्ताव आएको छ। सकारात्मक रूपमा छलफल भएको छ।’
महासचिव मिश्रले अध्यक्ष ठाकुरलाई राष्ट्रियसभामा प्रतिस्पर्धा गर्ने प्रस्ताव आए पनि सहकार्य गर्ने दलबारे टुंगो लगाउन बाँकी रहेको बताए।
‘संख्याको हिसाबले पनि हामी पर्याप्त छैनौँ। राष्ट्रियसभा निर्वाचनमा नतिजा निकाल्न ठूला दलसँग सहकार्य गर्नैपर्ने हुन्छ,’ उनले भने,‘कांग्रेस, एमालेलगायतका दलहरूसँग छलफल चलिरहेको छ, चाँडै निर्णय हुन्छ।’ मिश्रले राष्ट्रियसभाका साथै प्रतिनिधिसभा निर्वाचनमा पनि अन्य दलसँग सहकार्य गर्ने विषयमा मोर्चाको बैठकमा छलफल सुरू भएको जानकारी दिए। प्रत्येक दलबाट दुई-दुई जना रहनेगरी कार्यदल गठन गरेर सहकार्य तथा सिट बाँडफाटको खाका तयार पार्ने जिम्मेवारी दिइएको उनले बताए।
‘मोर्चामा आवद्ध प्रत्येक दलबाट दुई-दुई जना रहने गरी कार्यदल बनाउने निर्णय भएको छ,’ मिश्रले भने,‘कार्यदलले सिटको बाँडफाँटका साथै अन्य दलसँग सहकार्य गर्ने विषयमा खाका तयार पारेर नेतृत्वलाई बुझाएपछि थप कुरा अगाडि बढ्छ।’
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै यसअघि विभाजन भएको जसपा नेपाल र लोसपा नेपालबीच एक्कासी एकीकरण सहमति भएको छ। एकीकरणको सहमति भए पनि दुवै दलका नेताहरूको जिम्मेवारी टुंग्याउन बाँकी छ।



