नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि । फाइल तस्बिर।
जनकपुरधाम- नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति बिमलेन्द्र निधिले अहिले नेपाली कांग्रेससँग गठबन्धन गर्न सबै दल आतुर रहेको दाबी गरेका छन्।
धनुषाको लक्ष्मीनियामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले भने पञ्चायतकादेखि अहिलेसम्म देशमा संकट पर्दा कांग्रेसले निकास दिएको बताउँदै आगामी चुनावमा कांग्रेससँग गठबन्धन गर्न सबै आतुर भएको बताएका हुन्।
नेकपा एमाले, मधेशी दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सबै कांग्रेस मिल्न र गठबन्धन गर्न खोजिरहेको नेता निधिले दाबी गरे।
उनले चुनावका लागि पहिला पार्टीभित्रै गुटउपगुट तोड्न र नेता नेताबीच मेलमिलाप हुन जरुरी रहेको बताए। नेता निधिले जनताको हकअधिकार र विकासका लागि काम गर्ने पार्टी कांग्रेस भएकाले अन्य पार्टीहरूमा आवद्ध नेताकार्यकर्तालाई पनि कांग्रेसमै आउन आग्रह गरे।
एमाले, जसपा, नेकपा, माओवादीलगायतका पार्टीहरूले सधैँ कांग्रेससँगै गठबन्धन गर्न खोज्ने कुराले कांग्रेसमात्र राष्ट्रको पार्टी भएको प्रमाणित भएको उनले बताए।
उनले धनुषासहित देशका अधिकांश विकास पूर्वाधारका कामहरू कांग्रेसले नै गरेको पनि दाबी गरे। नेता निधिले विगतका कुरा बिर्सेर एकआपसमा समझदारी अपनाइ चुनावमा होमिन आग्रह गरे। पार्टी छाडेर गएका सम्पूर्ण नेताकार्यकर्तालाई घर फर्किन पनि उनले आग्रह गरे।



