काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताएका छन्। समयमै काम सम्पन्न नगरेमा ‘पेनाल्टी’ तिर्नुपर्ने व्यवस्था लागु गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्न बाध्यता हुने उनले बताएका हुन्।
आज सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले तोकिएको समयसीमाभित्र सडक निर्माण तथा मर्मत नसक्ने निर्माण व्यवसायीप्रति सरकार अब सहनशील नहुने बताए।
उनले भने,‘कम रकममा ठेक्का लिएर समयमै काम नगर्ने र बारम्बार ढिलाइ गर्ने कतिपय निर्माण व्यवसायीको हामीले ठेक्का रद्द गरेका छौँ। यो सरकारको रहर होइन, बाध्यता हो। अब सडक मर्मतमा ढिलाइ गरिए ‘पेनाल्टी’ तिर्नुपर्ने अवस्था आउँछ।’
देशभर सुधार गर्नुपर्ने सडकको संख्या अत्यधिक रहे पनि सीमित बजेटका कारण सबै सडक समयमै मर्मतसम्भार गर्न नसकिएको उनको भनाइ छ।
‘संघ, प्रदेश र स्थानीय तहबाट सडक मर्मतका लागि निरन्तर माग आइरहेको छ,’ उनले भने,‘तर बजेटको सीमितताले गर्दा सबै माग तत्काल सम्बोधन गर्न सकिरहेका छैनौँ।’




