ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ। फाइल तस्बिर।
काठमाडौँ- ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले वैकल्पिक शक्ति एकीकृत भएको देख्न चाहेको बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सही नेतृत्व र वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले वैकल्पिक शक्ति एक नहुने अवस्थामा कार्यगत एकता गरेरै भए पनि अघि बढ्नुपर्ने धारणा राखे। ‘सही नेतृत्व र वैकल्पिक शक्ति एक भएर जानुपर्छ। नभए कार्यगत एकता गरेर जानुपर्छ,’ घिसिङले भने, ‘नयाँ र मेनस्ट्रिम फोर्स एक भएर जान म आह्वान गर्छु। नेपाली जनताले वैकल्पिक शक्ति एक होस् र नयाँ नेतृत्व देओस् भन्ने चाहना राखेका छन्। त्यो चाहनालाई बुझेर अघि बढ्नुपर्छ।’
घिसिङले वैकल्पिक शक्ति एक बनाउने विषयमा शनिबार साँझसम्म छलफल जारी रहेको जानकारी दिए। तर आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सहमति भएको थियो। लगातार संवादमा रहेका घिसिङ भने उक्त सहमतिमा सहभागी भएनन्।
उनले उक्त सहमतिमा उज्यालो नेपाल पार्टीको सम्मानजनक उपस्थिति हुनुपर्ने स्पष्ट पारे। ‘उज्यालो नेपाल पार्टीको सम्मानजनक उपस्थिति, सम्मान र स्वाभिमान छ,’ घिसिङले भने,‘त्यसलाई यथास्थितिमा राख्दै, नमेटाइकन सबैसँग सहकार्य गर्न हामी तयार छौं।’




