खरबारी नै सुन्तला बगैँचा बन्यो

हिमाल प्रेस १२ पुष २०८२ ९:३६ | Saturday, December 27, 2025
10
SHARES
खरबारी नै सुन्तला बगैँचा बन्यो

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगैँचामा रुपान्तरण गरिएको हो । सुन्तलाखेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ ।

अगुवा किसान ओम गिरीले विगतमा खाद्यबाली लगाउने र पशुका लागि खरघाँस पाइने खरबारी रहेको पाखोमा स्थापना गरेको सुन्तलाले उत्पादन दिन थालेपछि अवस्था फेरिएको बताए । ‘पाँच सय सुन्तलाका बोट भएको मेरो बगैँचाबाट यसपालि करिब रु ११ लाखको सुन्तला बिक्री भयो’, उनले भने, ‘पहिले एक पाथी कोदो फल्ने बारीको पाटामा लगाएको सुन्तलाबाट रु एक लाख आम्दानी भयो ।’

गिरीका अनुसार सुन्तलाले बजार पाउन थालेपछि पछिल्लो समय घरवरपरको पाखोमा खरबारीमा झाडी फाडेर पनि बगैँचा विस्तार गर्ने क्रम बढेको छ । भेडाबारीको ४६ रोपनी पाखोबारी सुन्तला बगैँचामा परिणत भएको छ ।

भेडाबारीका तीन घर गिरी दाजुभाइको बगैँचाबाट यसपालि रु २५ लाखको सुन्तला बिक्री हुने अनुमान गरिएको उनले बताए । विसं २०४६ मा स्व रुद्र गिरीले भेडाबारीमा सुन्तलाखेती भित्र्याएका थिए । हजुरबुबाले सुरुआत गरेको सुन्तलाखेतीलाई उनका तीन भाइ छोरा र नौ भाइ नातिहरुले पनि निरन्तरता दिएको प्रेम गिरीले बताए ।

‘अरु ठाउँमा बसाइँसराइका कारण गाउँका खेतबारी बाँझिएर झाडीमा परिणत भइरहेको अवस्थामा हामी पेसा, व्यवसायका लागि बजार झरेका छौँ । विदेशमा भए पनि सुन्तलाखेतीलाई निरन्तरतासँगै विस्तार पनि गरेका छौँ’, उनले भने, ‘नगदेबाली भएकाले बजारमा हुनेले फुर्सदको समयमा घरमा पुगेर श्रम गर्छौं, विदेशमा भएका दाजु, भाइले मजदुर लगाएर बगैँचा व्यवस्थापन र हेरचाह गर्नुभएको छ ।’

समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइमा पूर्व फर्किएको भिरालो पाखो भएको भेडाबारीको भूगोल, माटो र जमिन सुन्तलाखेतीका लागि उपयुक्त छ । सडक सुविधा विस्तारसँगै भेडाबारीको छिमेकी भोर्लेनी टोलका बासिन्दाले पनि सुन्तलाखेती विस्तार गरेका छन् । भोर्लेनीका किसानले स्थापना गरेको नयाँ बगैँचामा लगाएको सुन्तलाका बोटमा पनि फल लाग्न थालेको छ ।

विसं २०७३ मा भोर्लेनी र भेडाबारीलाई ‘सुन्तलाबारी’ घोषणा गरेर सुन्तलाखेती विस्तार अभियान चलाइएको प्रेमले बताए । सुन्तलाखेतीबाट विगतमा दैनिक गुजारा चलाउन पनि कठिन हुने आफूहरुको जीवनस्तरमा अहिले धेरै परिवर्तन आएको उनको अनुभव छ।

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पोक हुँदै भोर्लेनी र भेडाबारी जोड्ने कच्ची सडक छ । सिँचाइका लागि पानीको स्रोत पर्याप्त छ । मंगला गाउँपालिकाको कृषि विकास शाखा र बेनीको कृषि विकास कार्यालयले प्राविधिक सहयोग गरेका छन् ।

गाउँमै गाडी पुग्ने भएपछि सुन्तलाको बजारीकरणमा सहज भएको छ । यस वर्ष प्रतिकिलो रु ७० का दरले त्यहाँको सुन्तला बगैँचा रोल्पाका फलफूल व्यवसायी बास्कर बुढाले ठेक्का लिए । स्वादिलो र रसिलो हुने भएकाले भेडाबारीको सुन्तला बिक्रीमा समस्या नभएको व्यवसायी बुढाले बताए । रासस

प्रकाशित: १२ पुष २०८२ ९:३६ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast