गगनलाई प्रवक्ता महतको जवाफ : सभापतिलाई दोष दिएर उम्किन पाउनु हुन्न

हिमाल प्रेस १० पुष २०८२ १८:२६ | Thursday, December 25, 2025
34
SHARES
गगनलाई प्रवक्ता महतको जवाफ : सभापतिलाई दोष दिएर उम्किन पाउनु हुन्न

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापालाई अतिरञ्जित हुनेगरी प्रस्तुत नहुन सुझाव दिएका छन्।

बिहीबार कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महामन्त्री थापालाई पार्टीमा आफ्नो जिम्मोवारी भुलेर अतिरञ्जित हुने नगरी प्रस्तुत नहुन आग्रह गरेका हुन्।

महामन्त्री थापाले सभापति शेरबहादुर देउवा बैठकमा नआए पनि निवासबाटै सारा शक्तिको अभ्यास गरिरहेको आरोप लगाएका थिए। निर्धारित मितिमा महाधिवेशन नभए विशेष महाधिवेशनको विकल्प खुला रहेको उनको भनाइ थियो।

प्रवक्ता महतले पार्टीको महाधिवेशन समयमै गर्न नसकेको विषयमा सभापति शेरबहादुर देउवालाई दोष दिएर उम्किन नमिल्ने बताए। थापा महामन्त्री भएकाले देशभरका नेता तथा कार्यकार्ताले उनीबाट जिम्मेवारीको अपेक्षा गरेको महतले जिकिर गरे।

‘उहाँ त पार्टीको महामन्त्री हुनुहुन्छ, उहाँबाट सम्पूर्ण नेता कार्यकर्ताले अपेक्षा गर्छन्,’ महतले भने,‘त्यसैले कुनै पनि विषयलाई हामीले अतिरञ्जित गर्नेगरी सार्वजनिक गर्न हुँदैन। अहिले कसैलाई दोष दिने कुरा छैन, सभापतिले कार्यवाहक सभापतिलाई सबै जिम्मेवारी दिनुभएको छ।’

प्रवक्ता महतले कार्यसम्पादन समिति बैठकमा बिहीबार पनि महाधिवेशन र समानुपातिक सूची तयार पार्ने विषयमा छलफल भएको जानकारी दिए। समानुपातिक सूची तयार गर्न विभिन्न मापदण्डका बारेमा छलफल भइरहेको उनले बताए।

त्यस्तै महाधिवेशनको कार्यतालिकाका आधारमा तयारी गर्ने विषयमा पनि छलफल भइरहेको महतले बताए। उनले क्रियाशील सदस्यता विवादका कारण जिल्ला अधिवेशन समयमा हुने नदेखिएको जानकारी दिए।

महतले केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही दिन चल्ने जानकारी दिए।

प्रकाशित: १० पुष २०८२ १८:२६ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast