बिलाउनीको झाडी फाडेर सुन्तला बगान

हिमाल प्रेस १० पुष २०८२ ८:३७ | Thursday, December 25, 2025
6
SHARES
बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसान‍ले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन्। २० वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन्। दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताए।

‘कोदो, मकैखेती हुन छाडेपछि पाखोबारी बाँझिएर बिलाउनीको झाडीले भरेको थियो’, उनले भने, ‘केरा र सुन्तलाखेती गरेपछि आम्दानी हुन थाल्यो। घर व्यवहार चलाउने र छोराछोरीको पढाइखर्च जुटाउन खाडीमुलुक जानुपरेको छैन।’

यस वर्ष करिब पाँच लाख मूल्य बराबरको सुन्तला बेचेका मित्रलालले केराबाट थप एक लाख आम्दानी हुने बताए । उनले तीन वर्ष खाडी मुलुक साउदीमा भेडा चराएर विसं २०५७ मा घर फर्किएपछि सुन्तला र केरा खेती सु गरे । गौतमको १६ रोपनी पाखोबारीमा सुन्तला र केराको बगैँचा छ ।

भित्रलालसँगै उनका छिमेकी चन्द्रमा पाइजा र चनदेवी पुनले पनि पाखोबारीमा सुन्तलाखेती गरेका छन् । छिमेकी टोल नरालेका समलाल जुग्जालीले २०५० को दशकमा सुन्तलाखेती भित्र्याएका थिए ।

हाल मालिका गाउँपालिका–७ मा पर्ने साविक बिम गाविसबाट वार्षिक एक करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री हुने अगुवा किसान भूपेन्द्र शर्माले बताए। पोखरा र चितवनका ब्यापारीले बगैचाबाटै प्रतिकिलो ७० का दरले सुन्तला खरिद गरेर लगेका छन्। नयाँ बिवा थपिने र क्षेत्रफल विस्तार हुने क्रम जारी छ।

अर्कला, नराले, ओखलढुंगा, टुनिबोट, दुुले, बनसार, नौमाने, भारवाङ, लुरवाङ, खारा र ढुनोट टोलमा ब्यवसायिक सुन्तलाखेती भएको छ। सुन्तला बेचेर एक जना कृषकले ६० हजारदेखि पाँच लाखसम्म आम्दानी गरेका छन् । साठीभन्दा बढी घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान भविराज पुनले बताए ।

‘सडक यातायातको सुविधा, भूगोल र हावापानी अनुकुल भएकाले सुन्तलाखेती फस्टाएको छ’, उनले भने, ‘कोदो, मकै, गहुँलगायत खाद्यान्नको विकल्पमा सुन्तलाखेती गर्ने क्रम बढेको छ ।’ पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएका कारण १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुर श्रीपालीले पछिल्लो १३ वर्षयता सुन्तलाखेतीलाई आम्दानीको माध्यम बनाएका छन्।

‘चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर २०५९ सालमा छुट्टीमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैँचा बगाएको थिए’, उनले भने, ‘त्यति बेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन थाल्यो । विदेश जानुपरेको छैन् । सुन्तलाखेती पेन्सनजस्तो भएको छ।’ उनले वार्षिक चार लाखको सुन्तला बिक्री गर्छन्। व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषकले बताएका छन्। रासस

प्रकाशित: १० पुष २०८२ ८:३७ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast