सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भागबन्डामा भएन सहमति

हिमाल प्रेस २७ मंसिर २०८२ ६:५१ | Saturday, December 13, 2025
64
SHARES
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भागबन्डामा भएन सहमति

जनकपुरधाम- मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारसम्बन्धी छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिना नै टुंगिएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त भएको आठ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै चर्को आलोचना बढेपछि आजको बैठक डाकिएको हो।

मन्त्रालय भागबन्डा, सभामुख नियुक्ति तथा मुख्यमन्त्रीले लिने विश्वासको मत प्रस्तावबारे छलफल गर्न बसेको ६ दलीय गठबन्धनको बैठकमा कुनै निर्णय हुन सकेन। जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव देशबाहिर रहेकाले महत्वपूर्ण निर्णयमा पुग्न नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

उनका अनुसार बैठकमा सरकारमा सहभागिता र भागबण्डाबारे सामान्य छलफल मात्र भयो। ‘सरोजजी अनुपस्थित भएकाले विस्तृत निर्णय हुन सकेन,’ ती नेताले बताए। एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै पुसको पहिलो साताभित्र मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सिटको आधारमा मन्त्रालय बाँडफाँड गर्ने विषयमा छलफल भएको जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बताए।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा गठबन्धनका दलहरू एकमत रहेको र केही दिनभित्र बस्ने अर्को बैठकमार्फत मन्त्रालय बाँडफाँड अन्तिम हुने जनमत पार्टीका संसदीय दलका नेता तथा अर्थमन्त्री महेशप्रसाद यादवले जानकारी दिए ।

गत १९ मंसिरमा छदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए। उनले २१ मंसिरमा पद तथा गोपनीयताको शपथ लिएका थिए। सोही दिन कांग्रेसबाट जंगीलाल राय, जनमतबाट महेशप्रसाद यादव अर्थमन्त्री र नेकपा एकीकृत समाजवादीका कनिस पटेल विभाविभागीय मन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: २७ मंसिर २०८२ ६:५१ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast