काठमाडौँ- ‘सुरक्षित आकाश’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि मनाइँदैछ।
अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)का सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन्। सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो। त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसंघको महासभाले यो दिवसलाई औपचारिक मान्यता प्रदान गरेको हो।
यो दिवसमा अन्तरराष्ट्रिय हवाई सेवाले विश्वका विभिन्न मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, मानव जातिको यात्रालाई सहज बनाउन विश्वव्यापी द्रुत यातायात सञ्जाल निर्माणमा आइकाओको भूमिकाको स्मरण तथा समीक्षा गरिन्छ।
आगामी २०३० मा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा हवाई सेवाले विश्वका विभिन्न राष्ट्रलाई जोड्ने प्रमुख माध्यम भएकाले यो दिवसको सान्दर्भिकता अझ बढेको आइकाओले जनाएको छ।



