काठमाडौँ- यति बेलदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेपाल कम्युनिस्ट पार्टीको संगठन विस्तारमा जुटेका छन्। १५ पार्टीबीच एकता गरेपछि प्रचण्ड र नेपालको अगुवाइमा देशभर ‘सन्देशसभा’ भइरहेका छन्। नेकपाले चार प्रदेशमा सभा आयोजना गरिसकेको छ।
पार्टी केन्द्रीय कमिटीले पूर्णता नपाएका बेला प्रचण्ड र नेपाल सभा गर्न देश दौडाहामा लागेका हुन्। नेकपा देशकै प्रमुख पार्टी बन्ने दाबी उनीहरुको छ। अन्य राजनीति शक्तिहरू कमजोर भएको र कांग्रेस-एमालेले पनि जनताबाट टाढिँदै गएको दाबी उनीहरुको छ।
उनीहरू एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोशित बनेका छन्। भदौ २३ को जेनजी आन्दोलन हुनुको कारण ओली भएको उनीहरूको भाषणमा सुनिन्छ।
जेनजी आन्दोलनपछि प्रचण्ड-माधवसहितका नेता एकीकरण गर्न तयार भए। एमालेबाट असन्तुष्ट नेताहरू पनि नेकपामै मिसिए। अहिले तिनै नेतासमेत गृह क्षेत्रमा पुग्ने गरेका छन्।
ओली यतिबेला महाधिवेशनको तयारीमा छन्। आगामी मंसिर २७ देखि ओलीले एमालेको महाधिवेशन गर्न लागेका छन्। महाधिवेशनका लागि प्रतिनिधि छनोटमा यतिबेला एमाले लागेको छ। तेस्रो पटक अध्यक्ष बन्ने बाटोमा लागेका ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने तयारी गरेका छन्।
यसले गर्दा पनि ओलीले आफ्नो पक्षमा नेता तान्ने प्रयत्न गरिरहेका छन्। केही दिनअघि मात्रै उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ओली पक्षमा तानिएको कुरा बाहिरिएको थियो। ओली अन्य नेतालाई आफ्नो पक्षमा पर्ने तयारीमा जुटेका छन्। ओली महाधिवेशनमा होमिएको बेला नेकपा नेकपा नेताहरू प्रादेशिक भेलामा जुटेका छन्।
‘ओलीजी र हाम्रो कार्यक्रमको संयोग मात्र परेको हो। प्रतिस्पर्धा गरेको होइन’, नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले भने, ‘हामी पार्टी बढाउने र बनाउने क्रममा छौँ। यही क्रममा देश दौडाहामा लागेका हौँ।’ अर्कातिर ओलीमाथि ‘स्थानहद’ लागेको छ। उनी उपत्यकामाथि प्रशासनको अनुमतिबिना जान पाउँदैनन्। जेनजी आन्दोलनपछि प्रशासनले देशबाहिर जान नपाउने र उपत्यका छाड्दा पनि अनुमति माग्नुपर्ने निर्देशन दिएको छ। यही कारण पोखरामा हुने भनिएको महाधिवेशन काठमाडौँमा सारिएको छ।
प्रचण्ड-माधव अहिले नेता भित्र्याउने पक्षमा लागेका छन्। केही जिल्लामा पदाधिकारी/पूर्वपदाधिकारीसमेत नेकपा भित्रिएका छन्। नेकपा नेता गजुरेल एमालेबाट नेकपा प्रवेश गर्ने नेताहरूलाई अहिले सहज परिस्थिति बनेको बताउँछन्।
‘माधव, वामदेव गौतम, भीम रावल पनि आएपछि एमालेका नेताहरूलाई सजिलो भएको छ,’ गजुरेल भन्छन्। गजुरेलका अनुसार अब एमालेका नेता समेत नेकपामा आउन सहज बाटो बनेको छ। ‘एमालेमा ओलीको विरोध गर्नै पाइन्न। त्यस्तो अवस्थामा बस्न सक्ने कुरा भएन। त्यस्तो अवस्थामा नेकपा मूल पार्टी हो’, गजुरेल भन्छन्।
नेकपाले यतिबेला कांग्रेस-एमाले दुवैको फाइदा लिन खोजेको छ। कांग्रेस पनि अहिले आन्तरिक विवादमा फसेको छ। महाधिवेशन मितिबारे विवादमा फसेको कांग्रेस उपत्यकामै केन्द्रित छ। यही बेला नेकपाले कार्यक्रम गर्दै छ। एकातिर चुनावमुखी प्रचारमा छ भने अर्कातिर पार्टीमा नेता÷कार्यकर्ता भित्र्याउने प्रयासमा छ। फागुनमा तोकिएको चुनावमा ध्यान दिनै नसकेको अवस्थामा नेकपाले यसको फाइदा उठाउने प्रयत्न गरेको छ। ‘हामी हाम्रो धारणा राख्ने काम गर्छौँ। जनतालाई बुझाउने काम त गर्नुपर्यो नि’, नेकपा नेता सोमप्रसाद पाण्डेय भन्छन्।




