सभापति ताकिरहेका पूर्णबहादुर परीक्षणकालमै फेल!

धैर्यकान्त दत्त १२ मंसिर २०८२ २१:३६
28
SHARES
सभापति ताकिरहेका पूर्णबहादुर परीक्षणकालमै फेल!

काठमाडौँ- नेपाली कांग्रेस महाधिवेशनका विषयमा गम्भीर विवादमा फस्दै जाँदा पार्टीभित्र नेतृत्व संकट तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाले उपचारका लागि विदेश जानुअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेपछि सुरु भएको केन्द्रीय समितिको बैठक महाधिवेशन मितिमा अड्किएर निष्कर्षविहीन बनेको छ। संस्थापन र इतरपक्षबीच सहमति नजुट्दा कार्यवाहक सभापति खड्काको समन्वय क्षमतामाथि तीव्र प्रश्न उठ्न थालेको छ। पार्टीभित्र मात्र होइन, बाहिर पनि खड्काको कार्यवाहक परीक्षणकाल असफल भएको टिप्पणी हुन थालेको छ।

सभापति देउवाले असोज २८ मा कार्यवाहक तोकेर सक्रिय राजीतिबाट बिदा लिने संकेत दिए पनि खड्काले समन्वयकारी भूमिका खेल्न नसकेको कांग्रेस नेताहरू बताउँछन्। जेनजी प्रदर्शनका क्रममा आक्रमणमा परेका देउवाले केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए। त्यसलगत्तै देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचारका लागि सिंगापुर हिँडेका थिए।

जेनजी प्रदर्शनपछि पार्टीको भावी रणनीति तय गर्न भनेर सुरु भएको कांग्रेसको केन्द्रीय कार्य समिति बैठक महाधिवेशन मिति तोक्ने विवादमा फसेको छ। २८ असोजमा सुरु भएको केन्द्रीय समिति बैठक अझै टुंगिएको छैन। केन्द्रीय समिति बैठक महाधिवेशनको मिति तोक्ने विवादमा यसरी नराम्ररी बल्झिएला भनेर कांग्रेसका कुनै नेताहरूले अनुमान गरेका थिएनन्। संस्थापन भनेर चिनिने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि प्रस्ताव अगाडि सारेपछि कांग्रेस यतिबेला ठूलो संकटको सामना गरिरहेको छ।

महामन्त्रीद्वयले पुसमा नियमित महाधिवेशन नगरे मंसिरमा विशेष महाधिवेशन गर्नैपर्ने चेतावनी दिएका छन्। महामन्त्रीद्वयका साथै इतरपक्ष पार्टीको नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्ने तर्क गरिरहेका छन्। महाधिवेशन मिति तोक्ने विषयलाई लिएर संस्थापन पक्ष विभाजित भएपछि कांग्रेस विवादको भुमरीमा फसेको हो।

संस्थापननिकटकै अन्य नेताहरू भने चुनावको मिति घोषणा भइसकेकाले अन्तर्घात टार्न पनि वैशाखमा महाधिवेशन गर्नुपर्ने अडानमा छन्। महाधिवेशन मिति तोक्ने विषयलाई यतिबेला दुवै पक्षले ‘इगो’ बनाएका छन्। १५ औँ महाधिवेशन मिति तोक्ने विषय कांग्रेस संस्थापन र इतरपक्षका लागि ‘जुँगाको लडाइँ’ भएको छ।

महाधिवेशनको विषयलाई लिएर विवाद सुरु भएदेखि उत्कर्षमा पुग्दासम्म कांग्रेसको नेतृत्व सम्हालिरहेका छन्, उपसभापति खड्काले। यतिबेला कार्यवाहकको जिम्मेवारी सम्हालिरहेका खड्का १५ औँ महाधिवेशनबाट आफैँ सभापति बन्न चाहिरहेका छन्।

पार्टीको आगामी सभापति ताकिरहेका खड्काले सम्हालिरहेको कार्यवाहकको कार्यकाललाई परीक्षणकालका रूपमा समेत हेरिएको छ। महाधिवेशन मिति तोक्ने विवाद सुरु भएदेखि कांग्रेसको नेतृत्व उपसभापति खड्काकै हातमा छ। उनकै सभापतित्वमा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकले भने महाधिवेशन मिति तोक्ने विवाद निरूपण गर्न असफल भइरहेको छ।

केन्द्रीय समिति बैठकमा सबै नेताहरूले आआफ्नो धारणा राखिसके पनि महाधिवेशन मिति भने टुंगो लाग्न सकेको छैन। कार्यवाहक उपसभापति खड्का भने यो विवाद समाधान गर्न लगभग असफल भइसकेका छन्।

संस्थापन र इतरपक्षबीच सहमति जुटाउन नसकेपछि खड्काले पटकपटक केन्द्रीय समिति बैठक स्थगित गर्दै आएका छन्। सहमति जुटाउन भनेर बैठक स्थगित गरिएको भनिए पनि कांग्रेसले समाधान निकाल्न सकेको छैन। पटक–पटक बैठक स्थगित हुन थालेपछि कार्यवाहक सभापति खड्काको पार्टीभित्रै चर्को आलोचना हुन थालेको छ। पार्टीका केन्द्रीय सदस्यहरूलै उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन थालेका छन्।

कार्यवाहक सभापति खड्का अहिले देखिएको पार्टीको आन्तरिक विवाद मिलाउन असफल भइसकेको कांग्रेसका एकजना केन्द्रीय सदस्य बताउँछन्। ‘पूर्णबहादुर दाइ १५ औँ महाधिवेशनमा सभापति लड्न चाहनुभएको छ। उहाँको कार्यक्षमता यो डेढ महिनाको कार्यकालले देखाइदिएको छ,’ संस्थापननिकट ती केन्द्रीय सदस्य भन्छन्, ‘अहिले देखिएको विवाद समाधान गर्न उहाँ लगभग असफल भइसक्नुभएको छ। उहाँको परीक्षणकालले नकारात्मक संकेत दिइसक्यो।’

उपसभापति खड्का १५ औँ महाधिवेशनमा देउवाको कोटाबाट सभापतिको उम्मेदवार बन्न चाहेका छन्। उनी १४ औँ महाधिवेशनमा सभापति देउवाकै कोटाबाट उम्मेदवार भएर उपसभापति निर्वाचित भएका थिए। अब उनी संस्थापनको साझा उम्मेवदार भएर सभापति बन्न चाहेका छन्। तर झन्डै डेढ महिनाको कार्यवाहक सभापतिको कार्यकालले खड्काको आगामी यात्रामा ‘ब्रेक’ लगाउने सम्भावना बढाइदिएको छ।

सहमति जुटाउन नसक्दा पार्टीभित्रै आलोचित हुन थालेपछि कार्यवाहक सभापति खड्काले सहमतिको वातावरण नबनेसम्म केन्द्रीय कार्यसमितिको बैठक नडाक्ने बताएका छन्। १५ औँ महाधिवेशनको मितिबारे सहमति नहुँदासम्म बैठक नबोलाउने उनले बताएका छन्। शुक्रबार बस्ने बैठक आइतबारका लागि सारिएपछि खड्काले सामाजिक सञ्जाल एक्समा यस्तो लेखेका हुन्।

‘बैठक स्थगित गर्नुपरेकोमा सबैसँग माफी चाहन्छु। सबै आलोचना ममै केन्द्रित गर्नुस्। सहमति नहुँदासम्म म कार्यवाहक अध्यक्ष रहेको समयभर बैठक स्थगित गर्न बाध्य हुनेछु,’ उनले लेखेका छन्। कार्यवाहक सभापति खड्काले पार्टीभित्रको विवाद मिलाउन नसकेपछि पछिल्लो समय सभापति देउवा आफैँ सक्रिय भएका छन्। डेढ महिनासम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेर पनि महाविधेशनसम्बन्धी विवाद टुंगो लगाउन खड्का सफल नभएपछि देउवाले आफैँले प्रयास थालेका हुन्।

बाहिर सक्रिय नदेखिए पनि सभापति देउवा आन्तरिक ढंगले निरन्तर नेताहरूसँग छलफलमा छन्। हाल पार्टीभित्र देखिएको विवादलाई निकास दिन उनी निरन्तर संस्थापनका साथै इतरपक्षका नेताहरूसँग छलफल गरिरहेका छन्। खड्काले निकास दिन नसकेपछि संस्थापननिकटका कतिपय नेताहरूले कार्यवाहकको जिम्मेवारी फिर्ता लिएर सक्रियता देखाउन देउवालाई अनुरोध गरेका थिए। कार्यवाहक फिर्ता लिन अस्वीकार गरे पनि देउवाले विवाद समाधानका लागि अनौपचारिक पहल थालेका छन्।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सरकारमा छँदा वा पार्टीभित्र कुनै दाग लागेका नेता भए पनि कार्यवाहक सभापति खड्का अब्बल दर्जाको नेता नरहेको बताउँछन्।

‘पूर्णबहादुर काठमाडौँबाट उठेका मान्छे होइनन्, मिडियाबाट पनि उठेका मान्छे होइनन्। पार्टीका हरेक चरणमा आफूलाई उभ्याएर यहाँ पुगेका मान्छे हुन्। सरकारमा मन्त्री छँदा उनका विरोधीहरूले पनि भ्रष्टाचारको आरोप लगाउन सकेनन्। पार्टीभित्र स्वच्छ छवि भएका मान्छे हुन्,’ आचार्य भन्छन्, ‘जहाँसम्म नेतृत्व कौशलको कुरा छ, त्यसमा उनी अब्बल दर्जाका होइनन्, अलि समन्वयकारी हुन्।’

आचार्यको बुझाइमा उपसभापति खड्का समन्वयकारी भए पनि मासमा पकड भएका नेता होइनन्। ‘गिरिजाबाबु र किसुनजीबीच झगडा हुँदा उनले समन्वयकारी भूमिका खेलेका थिए, मैले पनि त्यसमा साथ दिएको थिएँ,’ उनी भन्छन्, ‘उनको समन्वयकारी भूमिका हो, मास अपिल भएको मान्छे होइनन्।’

उपसभापतिमा निर्वाचित भएकाले खड्का कार्यकर्तामाझ लोकप्रिय रहेको भनेर १४ औँ महाधिवेशनले पुष्टि गरेको आचार्यको भनाइ छ। हाल देखिएको विवादका सन्दर्भमा खड्का त्याग दिन तयार देखिए पनि त्यो अपुरो हुने आचार्यले बताए।

‘अहिले उनले खेलिरहेको भूमिका पार्टी विभाजनतिर गयो भने पदै छोडेर हिँड्छु भनेका छन्, इमोसनली पार्टीलाई एकताबद्ध बनाउन त्याग गर्न तयार देखिएका छन्। उनको त्याग अपुरो, अधुरो हुन्छ,’ आचार्य भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast