कांग्रेस चुनावकै पक्षमा छ, विशेष महाधिवेशन आवश्यक छैन : बिमलेन्द्र निधि (भिडियो कुराकानी)

धैर्यकान्त दत्त ५ मंसिर २०८२ ६:१९
14
SHARES

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वगृहमन्त्री बिमलेन्द्र निधिले पार्टीभित्र विशेष महाधिवेशनको आवश्यकता नरहेको स्पष्ट पारेका छन्। हिमालप्रेससँग बिहीबार भिडियो कुराकानीमा उनले कांग्रेस नेतृत्वले अहिले प्रतिनिधिसभा पुनःस्थापनाकोभन्दा चुनावलाई नै मुख्य विकल्पका रूपमा हेरेको बताए।

निधिले जेनजी आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमण र देशभरका नेताकार्यकर्तामाथि भएका घटनाले पार्टी एकतालाई अझ बलियो बनाउनुपर्ने आवश्यकता देखिएको बताए।

उनले भने, ‘हामीहरू चुनावकै पक्षमा छौं। प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा छैनौं। विशेष महाधिवेशनको आवश्यकता छैन। पार्टी सभापति शेरबहादुर देउवामाथि आक्रमण भएको छ। देशभरका नेताकार्यकर्तामाथि आक्रमण भएको छ। यस्तो बेलामा कांग्रेस एकताबद्ध हुनुपर्छ।’

विशेष महाधिवेशन माग गर्दै महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले चलाएको हस्ताक्षर अभियानलाई उनले अपरिपक्व, अदूरदर्शी र असामयिक भनेका छन्। ‘उहाँहरू स्वयं महामन्त्री हुनुहुन्छ। यस्तो विषय केन्द्रीय समिति बैठकमै उठाएर छलफल गर्न सकिन्थ्यो,’ निधिले भने।

उनका अनुसार ५४ प्रतिशतले हस्ताक्षर गरे पनि बाँकी ४६ प्रतिशत प्रतिनिधि वा कार्यकर्ता नभएको जस्तो व्यवहार गर्नु गलत हुने बताउँदै उनले पार्टीभित्र सहमतिपूर्वक प्रक्रियामा जानुपर्नेमा जोड दिए।

निधिले सभापति देउवाले नै कार्यवाहक सभापति तोकेको, आगामी महाधिवेशनमा आफू उम्मेदवार नबन्ने घोषणा गरिसकेको तथा विधानअनुसार सभापतिलाई पुनः उम्मेदवार बन्न नपाइने भएकाले कांग्रेसमा अन्य दलजस्तो नेतृत्व बदल्ने संकट नै नभएको बताए।

निधिले भने, ‘महाधिवेशनको समय बाँकी छ, नेतृत्व परिवर्तन शंकाको विषय छैन। कांग्रेस चुनावमै जाने पक्षमा छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast