वीरगञ्ज (पर्सा)- जेनजी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब आलम ठकुराई गुमाएकी आमा नजला खातुन र आफ्नो पति गुमाएकी रोक्सिता खातुनको आँखा अहिले पनि ओभाएका छैनन्। काठमाडौँमा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका छोरा र पतिको यादले दुवै जना अहिलेसम्म पनि सम्हालिन सकिरहेका छैनन्।
उनीहरू मात्रै होइन, परिवारका अन्य सदस्यहरूको पनि पीडा कम भएको छैन। आफ्नो घरको सदस्य गुमाउनु पर्दा परिवारमा निराशा र छटपटी भने उस्तै छ। ‘जेनजी आन्दोलनमा भएको अप्रिय घटनाले मेरो मुटु नै चुँडेर लगेजस्तै भइरहेको छ,’ गहँभरि आँशु झार्दै आमा नजला खातुनले भनिन्, ‘आफ्नो सन्तान गुमाउनु पर्दा म जस्तो आमालाई परेको दुःख अरु कसैलाई नपरोस्?’
सहिद ठकुराईकी आमा नजलाले आफ्नो साइलो छोरा गुमाएपछि आफ्नो परिवार बिछिप्त अवस्थामा रहेको बताइन्। ‘घरपरिवारको सहारा रहेको छोरालाई मात्रै गुमाएका छैनौँ। कतारमा सुरक्षा गार्डको रुपमा काम गर्दै आउनुभएका श्रीमानको समेत जागिर गुमेको छ,’ उनले भनिन्, ‘जग्गाको नाममा एउटा घरसहितको नौ धुर जग्गा मात्रै छ। चार छोरा र बुहारीको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ।’
ठकुराईका बुबा अमरुद्धिन वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत थिए। जेनजी आन्दोलनमा छोरा बितेसँगै उनले जागिर छाडेर छोराको अन्तिम संस्कारको कर्म गर्न भन्दै नेपाल फर्किएका थिए। अहिले बुबा अमरुदिन भने कामविहीन भएका छन्। छोराको मुस्लिम धार्मिक संस्कार अनुसारको कर्म गर्न भन्दै भारतको नयाँदिल्लीमा इस्मालिम जमाती गर्नका लागि गएका छन्।
मुस्लिम समुदायमा आफ्नो परिवारको सदस्यको निधनपछि चार महिने संस्कार हुने बताइन्छ। आमा नजलाले आफ्नो परिवारको खम्बा नै ढलेकाले पनि सरकारले आफ्नो परिवारको एक जना सदस्यलाई स्थायी रोजगारीको व्यवस्था गर्न माग गरेकी छन्। ‘कलकलाउँदो नौजवान छोरा गुमाएका छौँ। छोराको मृत्युको पूर्ति त जे दिए पनि हुन सक्दैन तर परिवारका सदस्यको गुजारा चलाउनको लागि पनि सरकारले एक सन्तानलाई स्थायी जागिरको व्यवस्था गरिदिए केही हदसम्म भए पनि मलमपट्टी हुने थियो,’ उनले भनिन्।
जेनजी आन्दोलनमा सहिद भएका ठकुराईकी पत्नी रोक्सिता खातुनको अवस्था पनि नाजुक भएको नजलाले बताइन्। ‘बिहे गरेको दुई महिना बित्न नपाउँदै छोरा गुमाउनुपर्यो। अब बुहारीले कसको मुख हेरेर बाँच्लिन् जस्तै भएको छ। हाम्रो त परिवारमा पीडामाथि पीडा थपिएको छ’, उनले भनिन्, ‘छोरा बितेसँगै बुहारीको मुहार कतिबेला पनि उज्यालो भएको छैन। बुहारी अहिले कोठाभन्दा बाहिर पनि निस्किएकी छैनन्।’ घटना हुनुभन्दा दुई महिना अघि मात्रै २४ वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सितासँग विवाह बैवाहिक जीवनमा बाँधिएका थिए।
जेनजी आन्दोलनका सहिद भएका ठुकराईका भाइ मुराद आलमले जेनजी आन्दोलन जुन उद्देश्यले गरिएको थियो, त्यसअनुसार परिवर्तन हुनुपर्ने माग गर्छन्। ‘मेरा दाइ जस्तै धेरै नेपालीले भ्रष्टाचारको विरुद्धको जेनजी आन्दोलनमा आफ्नो ज्यानको प्राण आहूति दिनुभयो। उहाँको योगदानलाई संस्थागत गर्नका मुलुकमा सुशासन र विधिको शासन हुनुपर्यो नि !,’ उनी भन्छन्।
जेनजी आन्दोलनमा बित्नु भएका ठकुराई वीरगञ्जमा कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गर्नका लागि काठमाडौंँ गएका थिए। ‘उहाँ फुर्सदको समयमा केही घण्टा पठाओ बाइक चलाएर खर्च जुटाउने गर्नुहुन्थ्यो’, भाइ मुरादले भने। असहाब भदौ २४ गतेको जेनजी आन्दोलनमा सक्रिय रुपमा सरिक भएका थिए। उनको फोटो तथा भिडियोले पनि उनी आन्दोलनमा सहभागी भएको पुष्टि गर्दछ।
कोटेश्वर आसपासको सडकमा प्रहरीको गोली लागेर दाजुको सहादत प्राप्त गरेको मुरादले बताए। ‘दाजुको छातीमा दुई गोली लागेपछि नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गर्न लागिएको रहेछ,’ उनले भने, ‘सिभिल अस्पतालमा मृत्यु भएपछि पोष्टमार्टम गर्नका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुर्याइएको भन्ने सुनियो। हामीले दाजुको शव शिक्षण अस्पतालबाट बुझिलिएका हौँ।’
मन्त्रिपरिषद्को गत कात्तिक १७ गते बसेको बैठकले भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सोही निर्णय अनुसार वीरगञ्जका असहाब पनि सहिदको सूचीमा परेका छन्।
परिवारका सदस्य भने सहिदको सूचीमा राखेर मात्रै नपुग्ने बताउँछन्। मुरादले सरकारले आफ्नो दाजुलाई सहिद घोषणा गरेर मात्रै नपुग्ने बताए। ‘हाम्रो दाइलाई सहिद घोषणा गरेर मात्रै हुँदैन। जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीको राज्यले उच्च सम्मान गरी उहाँहरुलाई सधैँ सम्झिने वातावरण बनाउन जरुरत छ,’ उनले भने, ‘जेनजी आन्दोलनका उद्देश्य अनुरुप मुलुकमा भ्रष्टाचाररहित सुशासन र समृद्धि आउन जरुरत भएको छ।’
सहिद असहाब नजला र अमरुदिनको पाँच सन्तानमध्येका तेस्रो छोरा हुन्। असहाब वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट व्यवस्थापन सङकायमा कक्षा १२ पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ गएका थिए। असहाबका जेठा दाजु राजाबाबु र माइला दाजु आरिफ सिलाइकटाईको काम गर्दै आएका छन्। अर्का भाइ मुराद कक्षा १२ मा अध्ययनरत छन्। कान्छो भाइ मुनाफ कक्षा ९ मा अध्ययनरत छन्।
वीरगञ्ज महानगरपालिका–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले वीरगञ्जले एक असल युवा गुमाउनु पर्दा मर्माहत भएको बताए। ‘असहाब भाइ निकै असल व्यक्ति हुनुहुन्थ्यो। उहाँको निधनले अपूरणीय क्षति भएको छ’, उनले भने, ‘जेनजी आन्दालनको उद्देश्यले सार्थकता पाएको खण्डमा ठकुराई जस्ता युवाको उच्च सम्मान हुनेछ।’
मुराद आफ्नो जेनजी आन्दोलनमा सरिक भएका युवा विद्यार्थीमा दमन गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्छन्। ‘जेनजी आन्दोलनमा अत्याचार गर्नेलाई तत्कालै कानूनी दायरामा ल्याउन जरुरी छ,’ उनले भने, ‘दोषीलाई कडाभन्दा कडा कारवाही भएको खण्डमा मात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ।’ जेनजी आन्दोलनमा सहिद भएका प्रत्येक परिवारका सदस्यलाई सरकारी जागिरको सुनिश्चित गर्नुपर्ने मुरादको माग छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी समुनकुमार कार्कीले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका असहाबका परिवारलाई संघीय सरकारले घोषणा गरे बमोजिमको क्षतिपूर्ति उपलब्ध गराइसकेको बताए। ‘संघीय सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई घोषणा गरेको क्षतिपूर्ति उपलब्ध गराइसकेका छौँ,’ उनले भने। गत भदौ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने र मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो। -हिमाल लम्साल/रासस


