प्रदेशअनुसार आर्थिक संरचना र वृद्धिदरमा ठूलो भिन्नता [जीडीपी र योगदानसहित]

हिमाल प्रेस ६ जेठ २०८३ १८:२३ | Wednesday, May 20, 2026
8
SHARES
प्रदेशअनुसार आर्थिक संरचना र वृद्धिदरमा ठूलो भिन्नता [जीडीपी र योगदानसहित]

काठमाडौँ- प्रादेशिक कुल मूल्य अभिवृद्धि तथा आर्थिक वृद्धिदरसम्बन्धी प्रतिवेदनले प्रदेशगत अर्थतन्त्रमा स्पष्ट संरचनागत भिन्नता देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको  आर्थिक वर्ष २०८२/०८३ को वर्गीकरणअनुसार यस्तो भिन्नता देखाएको हो।

प्रतिवेदनअनुसार बागमती प्रदेशबाहेक सबै प्रदेशमा कुल गार्हस्थ उत्पादन (जीडीपी) कृषि क्षेत्रले सबैभन्दा ठूलो योगदान दिएको छ। बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार प्रमुख आर्थिक क्रियाकलापका रूपमा देखिएको छ। कोशी र मधेश प्रदेशमा व्यापार दोस्रो प्रमुख क्षेत्र छ। यसैगरी बागमतीमा घरजग्गा कारोबार सेवा दोस्रो स्थानमा रहेको छ।

गण्डकी र कर्णाली प्रदेशको जीडीपीमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र दोस्रो प्रमुख योगदानकर्ता क्षेत्रका रूपमा रहेको छ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शिक्षाको योगदान दोस्रो स्थानमा देखिएको छ।

प्रतिवेदनले प्रशासनिक सहयोगी सेवा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा न्यून योगदान दिने क्षेत्रका रूपमा देखाएको छ। मधेश, बागमती र कर्णाली प्रदेशमा खानी तथा उत्खनन् सबैभन्दा कमजोर क्षेत्र रहेको छ।

आर्थिक वृद्धिदरमा मिश्रित अवस्था

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशमा कृषि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा बाहेक अधिकांश आर्थिक क्रियाकलापमा धनात्मक वृद्धिदर रहने अनुमान गरिएको छ।

राष्ट्रिय स्तरमा सबैभन्दा उच्च वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्र (२०.९३ प्रतिशत) मा रहने प्रारम्भिक अनुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि यही क्षेत्र सबैभन्दा तीव्र वृद्धि हुने देखिएको छ। कर्णाली र सुदूरपश्चिममा वित्तीय तथा बिमा सेवामा उच्च वृद्धि हुने अनुमान छ।

केही क्षेत्रमा न्यून वा ऋणात्मक वृद्धिदर देखिएको छ। कोशीमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापन, बागमती, गण्डकी र कर्णालीमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र सबैभन्दा न्यून वृद्धिदरमा रहने अनुमान छ। मधेशमा कृषि र लुम्बिनी तथा सुदूरपश्चिममा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा ऋणात्मक वृद्धिदर रहने अनुमान गरिएको छ।

प्रदेशगत जीडीपी र योगदान

कोशी प्रदेश

जीडीपी : रु. १० खर्ब ४३ अर्ब (२०८२/८३ अनुमान)
राष्ट्रिय योगदान : १५.८%
प्रमुख क्षेत्र : कृषि (३२.५%)
सबैभन्दा कम : प्रशासनिक सहयोगी सेवा (०.३%)
वृद्धिदर : ३.१३%

मधेश प्रदेश

जीडीपी : रु. ८ खर्ब ६३ अर्ब
राष्ट्रिय योगदान : १३.१%
प्रमुख क्षेत्र : कृषि (३४.९७%)
सबैभन्दा कम : खानी तथा उत्खनन (०.१४%)
वृद्धिदर : १.३१%

बागमती प्रदेश

जीडीपी : रु. २४ खर्ब २३ अर्ब
राष्ट्रिय योगदान : ३६.७% (सबैभन्दा बढी)
प्रमुख क्षेत्र : थोक तथा खुद्रा व्यापार (२१.७%)
वृद्धिदर : ५.४०%

गण्डकी प्रदेश

जीडीपी : रु. ५ खर्ब ९२ अर्ब
राष्ट्रिय योगदान : ९.०%
प्रमुख क्षेत्र : कृषि (२५.७%)
वृद्धिदर : ५.०१%

लुम्बिनी प्रदेश

जीडीपी : रु. ९ खर्ब ३६ अर्ब
राष्ट्रिय योगदान : १४.२%
प्रमुख क्षेत्र : कृषि (२९.८%)
वृद्धिदर : २.८७%

कर्णाली प्रदेश

जीडीपी : रु. २ खर्ब ७७ अर्ब
राष्ट्रिय योगदान : ४.२%
प्रमुख क्षेत्र : कृषि (३१.५२%)
वृद्धिदर : २.९४%

सुदूरपश्चिम प्रदेश

जीडीपी : रु. ४ खर्ब ६३ अर्ब
राष्ट्रिय योगदान : ७.०%
प्रमुख क्षेत्र : कृषि (३३.४%)
वृद्धिदर : ३.२८%

प्रतिव्यक्ति जीडीपी

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा बढी बागमती प्रदेश (२६४४ अमेरिकी डलर) मा र सबैभन्दा कम मधेश प्रदेश (९३४ अमेरिकी डलर) मा छ। राष्ट्रिय औसत प्रतिव्यक्ति जीडीपी १५१३ अमेरिकी डलर रहने अनुमान छ। बागमती र गण्डकीबाहेक सबै प्रदेश राष्ट्रिय औसतभन्दा तल छन्।

प्रतिवेदनले नेपालका प्रदेशहरूबीच आर्थिक संरचना, उद्योगगत योगदान र प्रतिव्यक्ति आयमा ठूलो असमानता रहेको देखाएको छ। कृषि अझै पनि अधिकांश प्रदेशको प्रमुख आधार क्षेत्र बनेको छ भने बागमती प्रदेश सेवा र व्यापारमा केन्द्रित अर्थतन्त्रका रूपमा उभिएको छ।

प्रकाशित: ६ जेठ २०८३ १८:२३ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast