काठमाडौँ- काठमाडौँमा सोमबार सुरु हुने नेपाल प्रिमियर लिग (एनपीए) को दोस्रो संस्करणका आठ टोलीमध्ये दुई टोलीले मात्र घरेलु प्रशिक्षक नियुक्त गरेका छन्। सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबाहेक सबै एनपीएल फ्रेन्चाइजले विदेशी प्रशिक्षक नियुक्त गरेका हुन्। सुदूरपश्चिम रोयल्सले जगत टमाटालाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको छ। यसैगरी कर्णाली याक्सले राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई प्रमुख प्रशिक्षक बनाएको छ।
एनपीएलमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन्।
कुन टोलीमा को प्रमुख प्रशिक्षक?
पुभुदु दासनायाके (विराटनगर किङ्स) : नेपाली राष्ट्रिय टोलीका पूर्व प्रमुख प्रशिक्षक पुभुदु दासनायाके जसले गत वर्ष जनकपुर बोल्ट्सलाई उपाधि जिताउन सहयोग गरेका थिए। यस वर्ष उनी विराटनगर किङ्सको डगआउटमा देखिनेछन्। उनी हाल अमेरिकी राष्ट्रिय क्रिकेट टोलीको पनि प्रमुख प्रशिक्षक हुन्। श्रीलंकामा जन्मिएका क्यानाडाली दासनायाकेले क्यानाडाको राष्ट्रिय टोलीालई पनि प्रशिक्षण दिएका छन्।
शिवनारायण चन्द्रपाउल (जनकपुर बोल्ट्स) : गत संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले भारतीय क्रिकेटर शिवनारायण चन्द्रपाउललाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ। चन्द्रपाउलले अमेरिकी महिला राष्ट्रिय टोली र वेस्ट इन्डिज यूट्-१९ टोलीको प्रमुख प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। उनी २०२२ मा क्यारिबियन प्रिमियर लिगको जमैका टालवाह्स टोलीमा पनि प्रशिक्षक थिए।
मोन्टी देसाई (काठमाडौँ गोर्खाज) : काठमाडौँ गोर्खाजले नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाईलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ। भारतीय प्रशिक्षक देसाईले त्रिवि क्रिकेट मैदानको अवस्था र एनपीएलका अधिकांश नेपाली खेलाडीको क्षमता राम्ररी बुझ्ने भएकाले राजधानीको टोलीलाई फाइदा पुर्याउने विश्वास छ। उनले नेपाललाई ओडीआई स्थिति कायम राख्न र दोस्रो पटक टी ट्वान्टी विश्वकपमा पुर्याउन सफलतापूर्वक नेतृत्व गरेका छन्।
राजीव कुमार (पोखरा एभेन्जर्स) : पोखरा एभेन्जर्सले दोस्रो संस्करणका लागि आफ्नो प्रमुख प्रशिक्षकलाई कायमै राखेको छ। कुमारले बिहार र झारखण्ड राज्य टोलीका लागि प्रथम श्रेणी क्रिकेट खेलेका छन्। उनी आईपीएल टोली चेन्नई सुपर किंग्समा फिल्डिङ प्रशिक्षकका रूपमा पनि थिए। दोस्रो संस्करणमा एभेन्जर्सको प्रदर्शन सुधार गर्न उनी दबाबमा हुनेछन्। पहिलो संस्करण पोखरा सातौँ स्थानमा थियो।
कलाम अली (चितवन राइनोज) : चितवन राइनोजले गत संस्करणको सहायक प्रशिक्षकलाई दोस्रो संस्करणका लागि प्रमुख प्रशिक्षक बनाएको छ। अलीले गत संस्करण राइनोजलाई प्लेअफसम्म पुर्याउन मद्दत गरेका थिए।
टिनु योहान्नन (लुम्बिनी लाइन्स) : गत संस्करणमा आठौँ स्थानमा रहेकाले लुम्बिनी लाइन्सले नन्दन फडनिसको स्थानमा भारतीय पूर्वक्रिकेटर टिनु योहान्ननलाई प्रमुख प्रशिक्षक बनाएको छ। राष्ट्रिय टोली कप्तानले नेतृत्व गर्ने लुम्बिनी लाइन्सलाई बलियो टोली बनाउन उनी दबाबमा हुनेछन्। योहान्नन केरला राज्य क्रिकेट टोलीको प्रशिक्षक हुन्।
ज्ञानेन्द्र मल्ल (कर्णाली याक्स) : पहिलो संस्करणमा तेस्रो स्थान हासिल गरेको कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई प्रमुख प्रशिक्षक कायम राखेको छ। राष्ट्रिय टोलीका पूर्वकप्तान मल्ल नेपाल ए टोलीको पनि प्रमुख प्रशिक्षक हुन्। उनी नेपाली खेलाडी तथा परिस्थितिलाई राम्ररी चिन्छन्।
जगत टमाटा (सुदूरपश्चिम रोयल्स) : सुदूरपश्चिम रायल्सले पहिलो एनपीएल संस्करणको फाइनलसम्म पुर्याउने जगत टमाटालाई दोस्रो संस्करणका लागि पनि प्रमुख प्रशिक्षण तोकेको छ। टमटा पहिलो पुस्ताका नेपाली क्रिकेटरमध्ये एक हुन्। उनी सबैभन्दा अनुभवसम्पन्न नेपाली प्रशिक्षकमा गनिन्छन्। उनले नेपाली राष्ट्रिय टोली र यू-१९ टोलीमा प्रमुख प्रशिक्षक भएर काम गरेका छन्।



