विशेष महाधिवेशन पक्षधरको भावना समेटिने सर्वसम्मत समाधान खोजौँ : शशांक कोइराला

हिमाल प्रेस २६ कार्तिक २०८२ १६:०३
10
SHARES
विशेष महाधिवेशन पक्षधरको भावना समेटिने सर्वसम्मत समाधान खोजौँ : शशांक कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशांक कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँकडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्नेहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने बताएका छन्।

जारी केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा राख्दै कोइरालाले यतिबेला विशेष महाधिवेशनमा जान उपयुक्त नहुने भन्दै यस्तो माग गर्नेहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुने बताए।

उनले सामाजिक न्याय र समतामूलक समाज निर्माणको बीपीको विचारलाई स्थापित गर्न र नेपाललाई त्यो मार्गबाट सम्मुन्नतिमा पु¥याउन द्वन्द्व व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्नेमा आफू प्रस्ट भएको जिकिर गरे।

अहिलेको विषम परिस्थितिमा हठात् प्रतिक्रिया, आरोप प्रत्यारोप, आवेग, हठभन्दा विपरित विचारप्रति सहिष्णुता, सहअस्तित्वका साथ द्वन्द्व व्यवस्थापन गर्दै बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई मनन् गर्दै एकतावद्ध पार्टी निर्माण आजको आवश्यकता भएको उनको भनाइ छ।

‘म सधैँ यही अभिानमा छु,’ उनले भने,‘आज नेपालमा द्वन्द्व व्यवस्थापन पुरानो पुस्ता र आजको पुस्ताबीच, मधेश र पहाडबीच, लोकतान्त्रिक आन्दोलन र कम्युनिस्ट आन्दोलनबीच गर्नुपर्छ।’

फागुन २१ को निर्वाचन मुख्यम विषय भएको बताउँदै कोइरालाले त्यसका लागि सबै राजनीतिक दल, नागरिक समाजलगायतलाई एकताबद्ध बनाउनुपर्ने दायित्व नेपाली कांग्रेसको रहेको उल्लेख गरे।

‘यतिबेला कांग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ, साथै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ,’ उनले भने,‘त्यही कारण कांग्रेस फागुन २१ निर्वाचनमा सहभागी हुुनुपर्छ।’

निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारको रहे पनि त्यसतर्फ सरकार गम्भीर नदेखिएको उनले बताए। कोइरालाले भयरहीत वातावरण अन्त्य हुन नसकेको जिकिर गरे।

पूर्वमहामन्त्री कोइरालाले जेनजी आन्दोलनपछि सरकार बदलिए पनि संविधान यथावत रहेकोले फागुन २१ को निर्वाचनपछि बन्ने प्रतिनिधिसभाले आवश्यक संविधान संशोधन गरेर जेनजीका जायज माग पूरा गर्ने उल्लेख गरे।

प्रकाशित: २६ कार्तिक २०८२ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast