काठमाडौँ- विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई अनुबन्ध गरेको छ ।
टोलीले सोमबार सामाजिक सञ्जालमार्फत दासानायकेलाई मुख्य प्रशिक्षक बनाएको जानकारी दियो। दासानायकेकै प्रशिक्षणमा जनकपुर बोल्ट्स एनपिएलको पहिलो सिजनमा च्याम्पियन बनेको थियो ।
हाल उनी अमेरिकी राष्ट्रिय क्रिकेट टोली सम्हालिरहेका छन्। पहिलो सिजनमा विराटनगरको प्रशिक्षण केविन ओ’ ब्रायनले सम्हालेका थिए।
विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना अनुबन्ध गरेको थियो ।
यस्तै टोलीले विदेशी खेलाडीका रूपमा न्युजिल्यान्डका मार्टिन गप्टिल दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस र मर्चेन्ट डी लाङ्ग, अस्ट्रेलियाका साम हिजलेट तथा स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि विराटनगरसहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिक रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।



