हङकङ सिक्सेस क्रिकेट : भारतमाथि नेपालको ९२ रनको सानदार जित

हिमाल प्रेस २२ कार्तिक २०८२ १२:२०
10
SHARES
हङकङ सिक्सेस क्रिकेट : भारतमाथि नेपालको ९२ रनको सानदार जित

काठमाडौँ- हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगितामा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई ९२ रनको विशाल अन्तरले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा कुनै पनि विकेट नगुमाइ एक सय ३७ रन बनाएको थियो ।

ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतीय टोलीले भने तीन ओभरमै अलआउट हुनुअघि ४५ रनमात्र बनाउन सक्यो ।

नेपाली टोलीका बलर रुपेश सिंहले पहिलो ओभरमै भारतको विकेट लिएका थिए। रुपेशले भारतका ओपनर ब्याट्सम्यान रोविन उथप्पालाई पाँच रनको व्यक्तिगत स्कोरमा मोहम्मद आदिल आलमद्वारा क्याच गराए।

यसैगरी, नेपालले दोस्रो ओभरमा दुई विकेट लियो। बसिर अहमदले दोस्रो ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिए। उनले दोस्रो ओभरको दोस्रो बलमा प्रियांक पन्चाललाई १२ रनको व्यक्तिगत स्कोरमा आउट गरे। उनले आफ्नो बलमा आफैले क्याच लिएका थिए।

दोस्रो ओभरको तेस्रो बलमा बसिर अहमदले भारतका स्टुअर्ट बिन्नीलाई खाता खोल्नुअघि नै आदिल आलमद्वारा क्याच गराएका थिए।

यसैगरी, नेपालले तेस्रो ओभरको पहिलो बलमा भारतको चौथो विकेट लियो । रासिद खानले आफ्नो पहिलो बलमै भारतीय टोलीका कप्तान दिनेश कार्तिकलाई सात रनको व्यक्तिगत स्कोरमा आदिल आलमद्वारा क्याच गराएका थिए ।

यसैगरी, नेपालले तेस्रो ओभरको तेस्रो बलमा भारतको पाँचौं विकेट लियो । रासिद खानले भारतका भरत चिप्लीलाई १२ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर सन्दीप जोराद्वारा क्याच गराएका थिए।

यसैगरी, नेपालले तेस्रो ओभरको अन्तिम बलमा भारतको छैटौं विकेट लियो । रासिद खानले भारतका सहबाज नदिमलाई सात रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराए।

त्यसअघि, नेपालका लागि ओपनर रासिद खानले अविजित ५५ रन बनाएका थिए। उनले १७ बलमा ६ छक्का र चार चौका हिर्काए। उनले दोस्रो ओभरमा लागतार दुई चौका र एक छक्का प्रहार गरे।

रासिद खान प्रतियोगिताको नियम अनुसार, अर्धशतक पूरा गरेपछि ‘रिटायर्ड आउट’ हुँदै मैदानबाट बाहिरिएका थिए । ५० रन बनाउने खेलाडी स्वतः ‘रिटायर्ड आउट’ हुने नियम छ।

अर्का ओपनर सन्दीप जोराले अविजित ४७ रनको योगदान गरे । उनले केवल १२ बलको सामना गरी पाँच छक्का र चार चौका हिर्काए। उनले पहिलो ओभरमै लगातार तीनवटा छक्का प्रहार गरेका थिए।

भारतविरुद्धको खेलमा सन्दीप जोरा कप्तानको भूमिकामा पनि छन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका लोकेश बलमे पनि अविजित ३१ रन बनाए । उनले केवल सातमा चार छक्का र एक चौका हिर्काए । नेपालले अतिरिक्त रुपमा चार रन पायो।

नेपालले पहिलो ओभरमा २०, दोस्रो ओभरमा १६, तेस्रो ओभरमा २४, चौथो ओभरमा २०, पाँचौं ओभरमा २५ र छैटौं ओभरमा ३२ रन बनाएको थियो ।

प्रकाशित: २२ कार्तिक २०८२ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast