नियमित महाधिवेशनतर्फ कांग्रेस!

हिमाल प्रेस १२ कार्तिक २०८२ ११:१९
16
SHARES
नियमित महाधिवेशनतर्फ कांग्रेस! कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसमा नियमित महाधिवेशनका पक्षमा मत बलियो देखिन थालेको छ। महाधिवेशन प्रक्रिया तत्काल अघि बढाउनुपर्ने र महाधिवेशन लम्ब्याएर लैजाने पक्षबीच दोहोरी चलिरहेका बेला विज्ञहरूले पनि नियमित प्रक्रियाअनुसार १५ औँ महाविधेशनतर्फ गएमात्र पार्टी सबल हुने सुझाव दिएका छन्।

पार्टीका पुराना नेता सुरेन्द्र चौधरीले अब महाधिवेशनमा जान ढिला गरे दल थप संकटका पर्ने बताए। उनले भने, ‘नियमित महाधिवेशन प्रक्रियाबाट पन्छिने काम गर्न हुँदैन’, उनले हिमालप्रेससँग भने।

विशेष महाधिवेशन माग गरिरहेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित महाधिवेशनका पक्षमा सकारात्मक देखिएको नेताहरू बताउँछन्।

संस्थापन पक्ष भने फागुन २१ मा सरकारले निर्वाचन घोषणा गरेकाले त्यसअघि महाधिवेशन गर्न सहज नभएको भन्दै धकेल्ने दाउमा छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित सभापति देउवानिकट नेताहरू पार्टीको सबै ध्यान निर्वाचन केन्द्रित गर्नुपर्ने पक्षमा छन्। चुनावपछि मात्रै १५ औँ महाधिवेशन गर्न सकिने उनीहरूको योजना छ।

सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक दिएपछि पार्टी नियमित अधिवेशनमा गएको बुझाइ अधिकांश कांग्रेसजनको थियो। देउवाबाट पनि यस्तै अभिव्यक्ति सार्वजनिक भएको थियो।

संस्थापन इतर डा. शेखर कोइराला समूह भने नियमित महाधिवेशनका पक्षमा छ। डा. कोइरालाले तत्काल क्रियाशील सदस्यको काम थालनी गरेर महाधिवेशनको वातावरण गाउँगाउँसम्म पुर्‍याउन जोड दिइरहेका छन्। महाधिवेशन कार्यतालिका सार्वजनिक गरेर अघि बढ्दा दल फुट्ने जोखिम कम हुने बुझाइ डा. कोइरालाको छ। यसमा महामन्त्रीद्वय थापा र शर्मा पनि सहमत देखिएको नेताहरूको दाबी छ।

कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको मागलाई नियमित महाधिवेशनभित्रै अटाउने ढाँचा प्रस्ट पारेका छन्। यद्यपि प्रक्रिया अघि बढाउने विषयमा उनी अन्योलमा रहेको एक नेताले बताए। ‘हामी एक ढिक्का भएर निर्वाचन र पार्टीको महाधिवेशन एकसाथ अघि बढाउनेछौँ,’ खड्काले सोमबार नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भनेका छन्, ‘विशेष महाधिवेशनको प्रस्ताव नियमित महाधिवेशनको सीमाभित्र राखेर अघि बढ्न जरुरी छ।’

कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिर २४ गते सम्पन्न भएको थियो। पार्टी विधानअनुसार हरेक चार वर्षमा पार्टी महाधिवेशन हुनुपर्छ। सोहीअनुसार पार्टीको १५‍ औँ आगामी मंसिरमा हुनुपर्छ। एक वर्ष थप गर्न सकिने व्यवस्थाअनुसार अर्को मंसिर अर्थात् २०८३ को मंसिरसम्म महाधिवेशन गर्दा पनि नियमित महाधिवेशन हुने तर्क संस्थापन पक्षको छ।

पार्टी फुटको हल्ला

विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन गरेर पार्टीमा बुझाएकाहरूको एक समूहले पार्टी फुटको हल्ला चलाएको छ। केही नेतालाई पद तत्काल चाहिएको कारण यस्तो हल्ला चलाइएको नेताहरूको दाबी छ। म्याद सकिन लागेको महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको राजनीतिक औचित्य नहुने भएकै कारण यो अवस्था आएको हो।

कांग्रेसको केन्द्रीय समितिको बिहीबारबाट बस्ने बैठकले केही निर्णय लिने विश्वास नेताहरूको छ। बैठक बस्नुपूर्व महाधिवेशन प्रक्रिया तत्काल अघि बढाउनुपर्ने र महाधिवेशन लम्ब्याएर लैजाने पक्षबीच सञ्चारमाध्यममा दोहोरी चलिरहेको छ। कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन प्रक्रिया अघि नबढाएमा विशेष महाधिवेशनतर्फ जानेछ। बहुमत बढी सदस्यले विशेष महाधिवेशन माग गरेका छन्। उनीहरू त्यही विषय लिएर अदालत जान सक्ने अवस्था छ।

महाधिवेशन नगराउने नियत संस्थापनले राख्नेबित्तिकै पार्टी फुटको संघारमा पुग्ने निश्चित छ। नियमित महाधिवेशन नगर्दा ५४ प्रतिशतको मागलाई सम्बोधन गर्न विशेष महाधिवेशनमा जानुपर्ने हुन्छ। पार्टीले औपचारिक रूपमा महाधिवेशन नगरेमा भेला बोलाउने तयारी अर्को समूहको रहेकाले पनि यसमा नेतृत्व निकै सचेत हुनुपर्ने अवस्था छ। किसुनजीको नाम भजाएर सानो कोटरीमा रमाइरहेका केही नेताहरू पार्टी फुटेफुटोस् तर आफैँ केन्द्रमा रहनुपर्ने सोचमा छन्।

शेरबहादुर देउवाले परिस्थिति बुझेर कार्यवाहक दिएका हुन् भन्ने ख्याल गरेर सम्बोधन गर्न सक्नुपर्छ। धेरै बोलेर होइन कम बोलेर काम गर्नुपर्ने अवस्थामा नेपाली कांग्रेस रहे पनि अधिक बोलिदिनेहरूले यो पार्टीलाई बिगारेको तर्क पनि केही प्रतिनिधिहरुको छ।

२४८८ प्रतिनिधिले गत असोज २९ मा विशेष महाधिवेशन माग गरेर हस्ताक्षर बुझाएका थिए। १४ औँ महाधिवेशनमा ४७४३ सदस्य थिए। यस्तो अवस्थामा बीचको बाटोमा लैजान कार्यवाहक सभापति खड्का लाग्नुपर्ने देखिन्छ। उनले तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गरेर गाउँगाउँबाट कांग्रेसको लहर ल्याउनुपर्ने अर्का एक पदाधिकारीले बताए। यसो नभएमा कांग्रेस फुटको संघारमा जानेछ।

उता डा. कोइरालाले नियमित अधिवेशन माग गरेर आफूलाई समन्वयकारी भूमिकामा प्रस्तुत गर्ने तयारी गरिरहेका छन्।

हस्ताक्षर अभियानमा सक्रिय नेता गुरुराज घिमिरेले नेतृत्वमा रहेकाले वैधानिक मागलाई विभाजनमा जोडेर अघि बढेमा राम्रो नहुने चेतावनी दिएका छन्। ‘देउवा समूहका केही साथीहरूले गुटगत भेला गर्दै हिँड्ने काम गरिरहेका छन्। त्यो राम्रो होइन’, उनले भने, ‘जेनजी आन्दोलनकै दिन प्रधानमन्त्रीलाई राजीनामा गराएर सरकारबाट बाहिर निस्किएको भए न देश खरानी हुने थियो न संसद् विघटन।’

निर्वाचन हुने अवस्थामा गुटलाई टिकट बाँड्ने दाउमा देउवा निकट भनिनेहरुको लोभ छ। त्यो हुन नदिने इतर पक्षको दाबाीछ। गुटको बैठक राख्न निरन्तर दबाब परेपछि कार्यवाहक सभापति खड्कामाथि बैठक राखेका थिए। कतिपय वडामा समेत हार्ने अवस्था भएका नेता देउवा निकट छन् र स्वर उनीहरुकै ठूलो रहँदा पनि लड्दै आएकाहरुलई चित्त नबुझेको हो।

प्रकाशित: १२ कार्तिक २०८२ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast