जेनजी आन्दोलनमा चोटिल भएका देउवाको सुखद बहिर्गमन

किरण पौडेल २९ असोज २०८२ २१:३७
42
SHARES
जेनजी आन्दोलनमा चोटिल भएका देउवाको सुखद बहिर्गमन

काठमाडौँ- जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवा पहिलोपटक बैठकमा पार्टी कार्यालय आउने भएपछि मंगलबार दिउँसो सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय भरिभराउ थियो।

कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्यहरू उपस्थित थिए नै अन्य नेता तथा कार्यकर्ताहरूको बाक्लो भिड थियो। कांग्रेस पार्टी कार्यालयमा सञ्चारकर्मीहरू उल्लेख्य संख्यामा पुगेका थिए भने सुरक्षा व्यवस्था कडा पारिएको थियो।

जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा आफ्नै निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भएका देउवा र कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजु देउवा राणा ३५ औँ दिनमा मंगलबार पहिलोपटक सार्वजनिक भएका थिए।

देउवा सधैँझैँ विनातामझाम साधा पहिरनमा थिए। उनका पछाडिपछाडि हिँडिरहेक आरजु पनि मंगलबार साधारण पोशाकमै देखिएकी थिइन्। हातमा सामान्य पर्स बोकेकी उनी शान्त देखिएकी थिइन्। १२ वटा टाँका लागेको बताइए पनि देउवाको टाउकोमा चोट देखिएको थिएन। स्वास्थ्यबारे सञ्चारकर्मीले प्रश्न गरे पनि देउवाले जवाफ दिएनन्। सरासर केन्द्रीय समिति बैठक कक्षतिर अगाडि बढिरहे।

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर जिम्मेवारीबाट मुक्त भए। केन्द्रीय समिति बैठकमा उपसभापति खड्कालाई कार्यवाहक तोकेर देउवा बाहिरिएका थिए।प्रायः कम बोल्न रूचाउने देउवाले केन्द्रीय समिति बैठकमा लिखित सम्बोधन गरे। उनले भने,‘मलाई अहिले पनि चक्कर आए जस्तो हुन्छ, धेरै बेर बस्न सक्दिनँ। तपाईँहरू मिलेर पार्टी राम्ररी चलाउनुस्।’

उपसभापति खड्कालाई जिम्मेवारी दिएर पार्टी राजीतिबाट मुक्त हुन खोजेका देउवा आफूलाई स्वास्थको हिसाबले अनुकूल ठानिरहेका छैनन्। देउवा दम्पत्ति उपचारका लागि सिंगापुर जाने तयारीमा छन्।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भइ उपचार गराइरहेकै बेला जिम्मेवारी हस्तान्तरण गर्न देउवामाथि दबाब थियो। लामो समयको मौनता र अन्योलता चिर्दै अन्ततः देउवाले जिम्मेवारी हस्तान्तरण गरे।

जेनजी आन्दोलनको भावनाअनुसार वा बाध्यतावश जिम्मेवारी हस्तान्तरण गर्ने देउवा–कदमको चौतर्फी प्रशंसा भइरहेको छ। कांग्रेसवृत्तमा मात्रै नभएर नेपाली राजनीतिलाई नजिकबाट नियाल्नेहरूले पनि उनको प्रशंसा गरिरहेका छन्।

ठूला र पुराना राजनीतिक दलका मुख्य नेताहरूले जिम्मेवारी हस्तान्तरण गर्न चाँहदैनन् भन्ने भास्य देउवाले चिरिदिएका छन्। देउवाको यो निर्णयले अन्य ठूला दलका नेतृत्वकर्ताहरूलाई पनि दबाब बढाइदिएको छ।

त्यसो त, देउवाले यसअघि नै फेरि सभापति नबन्ने घोषणा गरेका थिए। कांग्रेस विधानअनुसार पनि दुईपटक भन्दा बढी एउटै व्यक्ति सभापति बन्न पाउँदैनन्। विधानले गरेको बन्देजका कारण पार्टी नेतृत्वबाट देउवाको बर्हिगमन निश्चित थियो। बढीमा विधान र संविधानको उपयोग गर्दै उनले साढे एक वर्ष आफ्नो कार्यकाल लम्ब्याउन सक्थे। तर, जेनजी आन्दोलनपछि बढेको दबाबका कारण देउवा केही अघि नै पार्टी नेतृत्वको जिम्मेवारीबाट मुक्त हुन रूचाए।

कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिकरूपमै देउवाले सक्रिय राजनीति छाड्नुपर्ने बताएका थिए। जेनजी आन्दोलनको भाव पनि ठूला नेताहरूले मार्गप्रशस्त गर्नुपर्ने थियो। र, देउवाले त्यसै गरे। कांग्रेस राजनीतिमा अब देउवा फर्किने सम्भावना कति? अहिले यो विषय चर्चामा छ। ७९ वर्षीय देउवा जेनजी आन्दोलनपछि पूर्णरूपमा स्वस्थ छैनन्।

गत भदौ २४ गते जेनजी आन्दोलनकर्ताले घरमै देउवा दम्पत्तीमाथि कुटपिट गरेका थिए। कुटपिटको सार्वजनिक भिडियोअनुसार देउवामाथि लछारपछार गरिएको थियो। देउवाको रक्ताम्मे शरीर सेनाले जिम्मा बुझेको थियो। लामो समय भूमिगतसँगै देउवा उपचारमा थिए। मंगलबार एकाएक बैठकमा आए र कार्यवाहक दिएर फर्किए।

अब स्वास्थ्य भएपछि उनी फेरि कांग्रेसको राजनीतिमा फर्किन्छन्? अहिले यो विषय प्रष्ट त छैन। फर्कि पनि पार्टी नेतृत्वमा पुग्ने सम्भावना त पक्कै छैन। बढीमा उनी अभिभावकका रूपमा बस्ने छन्। तर कांग्रेसवृत्तमा देउवा पार्टी राजनीतिमा फर्किन सम्भावना नभएको दाबी गरिँदैछ।

‘सभापतिज्यूको यो नै अन्तिम बैठक हो। अब आउनुहुन्न,’ बैठकपछि महामन्त्री थापाले पत्रकारसँग भनेका थिए।

हुनत देउवासँग पार्टी राजनीतिमा फर्किन समय पनि कति छ र! पार्टीभित्र महाधिवेशनको मिति तोक्न चर्को दबाब छ। महामन्त्री गगन थापा समूह विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेको छ। यदि विशेष महाधिवेशनको पक्षमा महासमिति सदस्यहरू झुकेमा तत्काल महाधिवेशन हुने सम्भावना छ।

हालसम्म २२ सय ८८ ले बुधबार पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका छन्। गगनहरूले विशेष महाधिवेशनका लागि ‘लबिङ’ गरिरहे पनि यसको सम्भावना लगभग न्यून छ। किनभने वर्तमान कार्यसमितिको कार्यकाल मंसिर २८ गते सकिँदैछ। गगनहरूले भनेअनुसार त्यसअघि महाधिवेशन हुने सम्भावना नहरहेको कांग्रेस नेताहरूकै भनाइ छ। पर्याप्त तयारी नपुगेकाले विशेष महाधिवेशनको सम्भावना नरहेको नेताहरूको भनाइ छ।

अर्कोतर्फ देउवा इतरपक्षधर नेता शेखर कोइराला समेत महाधिवेशनको माग गरिरहेका छन्। उनी विशेष महाधिवेशन भन्दा पनि नियमित महाधिवेशन हुनुपर्ने बताउने गरेका छन्। कांग्रेसलाई महाधिवेशन लागिसकेकाले पनि देउवाको पुनरागमन सम्भव नरहेको कांग्रेस केन्द्रीय अजयबाबु शिवाकोटी बताउँछन्।

न बनाउन सके आरजुलाई उत्तराधिकारी, न दिए अरू नेतालाई ‘सिग्नल’

कांग्रेस सभापतिबाट बिदा हुनुअघि देउवाको एउटा चाहना थियो– पत्नी आरजुलाई उत्तराधिकारीका रूपमा अगाडि बढाउनु।

यसका लागि देउवाले प्रयत्न पनि नगरेका होइनन्। पार्टीमा स्थान दिन महिला क्लस्टरबाट केन्द्रीय सदस्य बनाए भने समानुपातिक सूचीबाट सांसदमा छिराए। आरजुले परराष्ट्रमन्त्रीसम्म बन्ने सौभाग्य पाइन्। तर, पदमा हुँदा होस् वा नहुँदा आरजु सधैँ आलोचनाको पात्र बनिरहिन्। अन्ततः आरजु केन्द्रीय सदस्यमै सीमित रहँदै देउवाले सभापतिबाट बिदा भए।

राजनीतिक विश्लेषक डम्बर खतिवडा देउवाले आरजुलाई उत्तराधिकारीकै रूपमा अघि बढाउन चाहेको दाबी गर्छन्। विधान संशोधन गरेर भए पनि आरजुलाई महिला उपसभापति बनाउने चर्चा थियो। यसका लागि महामन्त्रीहरूसँग समेत देउवाले छलफल चलाएका थिए। पार्टीको दोस्रो तहको पद आरजुलाई दिलाउने देउवाको सपना पूरा नभएको खतिवडाको विश्लेषण छ। त्यसो त, देउवाले प्रतिस्थापनपछि अन्य नेताले उनको साथ खोजेका थिए।

उनी निकट नेताहरूले त देउवाले भावी सभापति उम्मेदवार तोक्नुपर्ने बताएका थिए। नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठले बैठक नै बसेर देउवामाथि दबाब बढाएका थिए।

उनीहरूले देउवालाई भेटेर ‘आफूहरूमध्येबाट एक जनालाई सभापतिको उम्मेदवार तोक्न’ भनेका थिए। तर देउवा मौन बसे। हुनत देउवाबाट समर्थन पाउन इतरपक्षका मानिने महामन्त्री गगन थापा र शेखर कोइरालाले पनि प्रयत्न गरेका थिए। तर, उनीहरूले पनि समर्थन पाउन सकेनन्। देउवा कसैको पक्षमा खुलेनन्, अहिले पनि खुलेका छैनन्।

आन्दोलनबाट उठे, आन्दोलनपछि नै छाडे

देउवाले मंगलबारकै बैठकमा भनेका छन्,‘घरमा सधैँ एकैजना मुली नरहने’ भनेका छन्। ‘म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ- मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५ औँ महाधिवेशनबाट मबाहेक अरु कुनै साथी सभापति बन्नुहुनेछ त्यसमा द्विविधा छैन।’

यो सँगै ६० वर्ष लामो सक्रिय राजनीतिक जीवनबाट भने उनी अब अलग भएका छन्। विसं. २००३ साल जेठ ३१ गते डडेल्धुरामा जन्मेका देउवाले विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका थिए। उनी कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य हुन् भने पहिलो निर्वाचित अध्यक्ष हुन्।

प्रजातन्त्र पुनस्र्थापना हुँदा ०४६ सालमा देउवा कांग्रेसका सशक्त युवा नेताका रुपमा उदाएका थिए। ०४८ सालको आम निर्वाचनमा उनी अत्यधिक मतान्तरका साथ डडेलधुराबाट विजयी भए। त्यसपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री भए।

देउवाले ०५१ साल र ०५६ सालको संसदीय निर्वाचन तथा ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा पनि जीत हासिल गरे। दोस्रो संविधानसभा चुनावमा उनी डडेलधुरा र कैलालीबाट निर्वाचित भए। उनी ०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेपछि कांग्रेस र नेपाली राजनीतिमा उनको उचाइ झनै बढ्यो।

पार्टीभित्रको अन्तरसंघर्षमा देउवाले ०५९ सालमा कांग्रेस पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरी त्यसको सभापति बने। पहिलो संविधानसभा निर्वाचनअघि ६४ सालमा उनको प्रजातान्त्रिक कांग्रेस माउ पार्टीमा विलय भयो।

फेरि प्रधानमन्त्री बन्ने सपना

जेनजी आन्दोलनअघि देउवालाई भावी प्रधानमन्त्रीको रूपमा देखिएको थियो। एमाले–कांग्रेस गठबन्धनमा आधाआधा कार्यकाल ओली र देउवाले सरकारको नेतृत्व गर्ने सहमति थियो। त्यही सहमतिअनुसार ओली प्रधानमन्त्री बने तर देउवा बन्नै पाएनन्।

अब उनी प्रधानमन्त्री हुने नहुने अन्योल छ। देउवा प्रधानमन्त्री बन्न प्रतिनिधिसभा ब्युँतिनुपर्ने हुन्छ। किनकि, कांग्रेसको संसदीय दलको नेता उनै देउवा हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast