
नेपाली कांग्रेसलाई वर्तमान राष्ट्रिय, सामाजिक, आर्थिक र वैचारिक चुनौतीहरूसँग दृढतापूर्वक सामना गर्न सक्षम, रूपान्तरणकारी, युग-सुहाउँदो र पूर्णतः डिजिटल लोकतान्त्रिक पार्टीका रूपमा पुनर्निर्माण गर्नु यस आग्रहको मूल उद्देश्य हो। पार्टीभित्र वैचारिक स्पष्टता, संगठनात्मक सबलीकरण र नीतिगत आधुनिकीकरणमार्फत आमूल परिवर्तनको प्रक्रिया आरम्भ गर्दै पछिल्लो समय कमजोर र धारविहीन बनेको नेतृत्व प्रणालीलाई पुनर्जीवित गर्ने संकल्प आजको विषम परिस्थितिमा हामीले गर्नुपर्नेछ।
यस रूपान्तरणको माध्यमबाट नेपाली कांग्रेसले मुलुकमा शान्ति, स्थिरता र समृद्धिको स्थायी ढोका खोल्दै नागरिकको बाँच्न पाउने अधिकार, मौलिक स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, विधिको शासन, कानुनी राज्यको प्रत्याभूति, युवाहरूलाई स्वदेशमै रोजगार र डररहित स्वतन्त्र उद्यमशीलतालाई सुनिश्चित गर्नेछ। कांग्रेस एक प्रगतिशील, जिम्मेवार र जनमुखी संगठनका रूपमा बहुलवादमा आधारित जनताको भरोसाको शक्तिशाली लोकतान्त्रिक केन्द्रको रुपमा जनतामाझ आफूलाई पुनर्स्थापना गर्नेछ जसले बामे सर्दै गरेको नेपाली लोकतन्त्रको पूर्ण रक्षा र समृद्ध नेपालको निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नेछ र गरिरहनेछ। एकपटक पुनः मुलुक गम्भीर संकटमा परेको छ र यसलाई पार लगाउने जिम्मेवारी पनि देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक सरोकारवालका रूपमा रहेको कांग्रेसकै काँधमा आइपुगेको छ। यसै विषम परिस्थिपितमा पार्टीले भोलिदेखि गर्ने केन्द्रीय समितिको बैठकमा निम्नलिखित धारणामाथि पनि विचार विमर्श होस् भन्ने मनसायले यो आग्रहपत्र प्रस्तुत गरेको छु।
प्रस्तावका मुख्य बुँदाहरू
१. वैचारिक पुनर्परिभाषा : नेपाली कांग्रेसको ऐतिहासिक वैचारिक जग ‘लोकतान्त्रिक समाजवाद’ लाई २१औँ शताब्दीअनुकूल पुनर्परिभाषा गरिनुपर्ने अवस्थामा हामी निकै नजिक आइपुगेका हौ कि! डिजिटल प्रविधिलाई उपयोग गर्ने लोकतन्त्र, समावेशी समाजवाद र हरित अर्थतन्त्र’ का तीन स्तम्भमा आधारित रहेर हाम्रो वैचारिक जगलाई समयानुकूल बनाउन हाम्रा सम्भावित १० लाख क्रियाशील कार्यकर्ताका माझ गम्भीर बहस र छलफल अगाडि बढाउने कुरामा केन्द्रीय समितिमा छलफल चलाउने हो कि? यसै उद्देश्यका लागि ‘लोकतान्त्रिक समाजवादको युग सुहाउँदो व्याख्याका लागि पाँच सदस्यीय विज्ञ कार्यदल गठन गर्नुपर्ने हो कि?
आज हाम्रो पार्टीभित्रको वैचारिक धारलाई कमजोर र भुत्ते बनाउने वर्तमान केन्द्रीय नेतृत्वलाई (सम्पूर्ण पदाधिकारीहरूलाई) यो कुरा मन नपर्न सक्छ। तर सत्य के हो भने जब पार्टीले नीतिप्रधान संस्कारलाई छाडेर नेताप्रधान प्रवृत्तिलाई अंगाल्दै अगाडि बढ्ने प्रयास गर्यो, परिणामस्वरूप कांग्रेस आजको जटिल अवस्थासम्म आइपुगेको कुरा घामजत्तिकै छर्लंग छ।
२. संगठनात्मक रूपान्तरण
क. अब पार्टीभित्र तत्काल डिजिटल सदस्यता प्रणाली लागू गरियोस्। यसले कांग्रेसका क्रियाशील सदस्यहरूको वास्तविक स्थितिको जानकारी गराउनुका साथै पार्टीभित्र बारम्बार कुरा उठ्दै आइरहेको कार्यसम्पादन मूल्यांकनको व्यवस्थालाई सबैका सामु चुस्त दुरुस्त देखाउन सकिन्छ। पार्टीको वित्तीय कारोबार र निर्णय प्रक्रियामा समेत पारदर्शिता सुनिश्चित गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ र यसको औचित्य भर्खरै सम्पन्न जेनजी आन्दोलनले समेत पुष्टि गरेको छ। आजको युगका बालबालिका, युवा, प्रौढ र वृद्धहरू सबै डिजिटल प्रविधिसँग नजिक छन् र सोहीअनुसार पार्टीलाई डिजिटलाइजेसन गर्नुपर्ने बाध्यकारी आवश्यकता छ।
ख. कांग्रेस पारदर्शिता नीति-२०८२ ल्याइयोस्, भर्खरै सम्पन्न जेनजीहरूको आन्दोलनको मूल मर्म नै भ्रष्टाचारबाट आकुल राज्यमा सुशासन कायम गर्नु नै हो भन्ने थियो तर हामीले र हाम्रो पार्टीले यसलाई जति नै बहसको विषय बनाउँदा पनि सुनुवाइ नहुनाको परिणाम हाम्रै अगाडि छर्लंग छ।अब पनि हामीले यसलाई अनदेखा गर्ने हो भने यसको भयावह मूल्य चुकाउनबाट कसैले जोगाउन सक्दैन त्यसैले तत्काल कांग्रेसको पारदर्शिता नीति कार्यान्वयन गर्न तपसिलबमोजिमका कार्यहरू गरौँ-
-सर्वप्रथम त हामी आफैँले पार्टीको केन्द्रीय समितिबाट २०४८ देखि हालसम्म उच्च सार्वजनिक पदमा बसेका राजनीतिक दलका नेता, निजामती कर्मचारी र सरकारका उच्च ओहदामा रहने व्याक्तिहरू, संवैधानिक निकायका पूर्वप्रमुख, प्रमुख सुरक्षा निकायका पूर्वअधिकृत र वहालावाला अधिकृतहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र सम्पति जाँचबुझ आयोग गठन गर्न सरकारलाई आग्रह गरौँ जसले हामीप्रति नेपाली जनताप्रति गुमेको विश्वासलाई ठिक ठाउँमा ल्याउन सकिन्छ।
-पार्टीभित्रका प्रत्येक तहको नेतृत्व गर्ने व्याक्तिका सम्पत्ति विवरणहरू पार्टीलाई बुझाउने र सार्वजनिक रूपमा राख्ने निर्णय तत्काल पारित गरौँ।
-नेपाली कांग्रेसमा रहेर पार्टीका तर्फबाट २०४८ देखि २०८२ सम्म मन्त्री, सांसद, प्रदेश सांसद, पालिका प्रमुख, उपप्रमुख, समन्वय प्रमुख र वडा अध्यक्षहरूको सम्पत्ति छानबिन गर्ने पार्टीभित्रैबाट सम्पत्ति छानबिन आयोगको गठन गर्ने निर्णय तत्काल गरियोस्।
ग. पार्टीको सबै तहमा ४० प्रतिशत युवा (४०वर्षमुनि) प्रतिनिधित्व अनिवार्य रूपमा सुनिश्चित गरौँ। साथै स्थानीय तह, प्रदेश र संघमा करिब ४० प्रतिशत ४० वर्षमुनिका योग्य युवाहरूलाई समावशी रुपमा मिलाएर प्रत्यक्ष चुनाब लड्न दिने निति अख्तियार गरौँ।
घ. हरेक तीन वर्षमा नीति पुनरवलोकन सम्मेलन आयोजना गर्ने गरी नयाँ समयको चक्रसँग पार्टीका मूल्यमान्यताहरूमा विचारविमर्श गरौँ।
ङ. नेपाली कांग्रेसको विधानतः चार वर्षभित्र नियमित महाधिवेशन भइसक्नुपर्ने सन्दर्भमा अब मंसिर महिनाभित्र चार वर्षको म्याद पनि सकिने र पार्टी हाल पुनर्संरचनाको गम्भीर मोडमा रहेका बेला तत्काल निम्नानुसारको समयरेखा राखी फास्ट ट्रायक विधिबाट महाधिवेशनको मिति तय गरी सम्पन्न गर्ने।
कात्तिक १५ सम्म नयाँ क्रियाशील वितरण तथा पुरानो नवीकरण गरी वडाको सदस्यता संख्या सार्वजनिक गर्ने जुन अनलाइन र अफलाइन दुवै माध्यमलाई प्रयोगमा ल्याउने।
कात्तिक २० देखि २५ सम्म अनिवार्य वडा अधिवेशन गरी क्षत्रीय प्रतिनिधि टुंग्याउने।
कात्तिक ३० भित्र अनिवार्य ७५३ वटा पालिका अधिवेशन सम्पन्न गर्ने।
मंसिर ५ भित्र क्षेत्रगत ३३० वटा प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने।
मंसिर १० गते १ क्षेत्रको हकमा जिल्ला अधिबेशन, २ क्षेत्र वा सो भन्दा माथि भए क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने।
मंसिर १५ मा १ भन्दा बढी क्षेत्र भएका जिल्लाहरूमा जिल्ला अधिवैशन सम्पन्न गर्ने।
मंसिर १६ देखि १९ सम्ममा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने।
मंसिर २० देखि २५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्ने।
माघको ५ गतेभित्र सम्पन्न हुने गरि केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने।
यसलाई विकल्पका रूपमा जानको लागि (छोटो विधि)
कात्तिक ३० सम्म नयाँ पुरानो क्रियाशीलको टुंगो लगाई वडामा नामावली पठाउने।
मंसिर ५ गते क्षेत्रीय प्रतिनिधि टुंग्याउने।
पालिका र प्रदेशलाई तत्काल थाती राखी विदेशस्थित जनसम्पर्क समिति, क्षेत्र र जिल्ला समितिको अधिवशन मंसिर १५ भित्र टुंग्याई जिल्ला समिति र महाधिवेशन प्रतिनिधि मात्र चयन गर्ने।
मंसिर २५ गते सीधै प्रदेश अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गर्ने र बाँकी रहेका अधिवेशन नयाँ नेतृत्व आएको तीन महिनाभित्र सम्पन्न गरी सक्नुपर्ने बाध्यकारी निर्णय गर्ने।
३. वैचारिक तथा नीतिगत क्षमता विकास
-केन्द्रीय तहमा ‘कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई कुनै गुटगत मनोवृत्तिलाई बलियो बनाउने गुटगत प्रशिक्षणभन्दा बाहिर निकालेर युग सुहाँउदो, सम्पूर्ण पुस्ताको भावनालाई आत्मसात् गराउने गरी एक आधुनिक विचारशालाका रूपमा स्थापना गरियोस्।
-जिल्ला र प्रदेश तहमा राजनीतिक विद्यालय सञ्चालन गरियोस् जहाँ कार्यकर्ता र नेताले वैचारिक, नीतिगत र नेतृत्व क्षमताको विकास गर्नेगरी प्रशिक्षण पाऊन्।
-प्रत्येक नीति निर्माणमा प्राध्यापक, विज्ञ, युवा उद्यमी व्यवसायी, पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाजको सल्लाहसुझाव अनिवार्य बनाइयोस्।
-नेपाली कांग्रेस वैचारिक, सैद्धान्तिक र नीतिगत हिसाबमा अन्य नेपालका दलहरूभन्दा किन फरक छ भन्ने कुराको पुष्टि गर्दै अब लोकतन्त्रको आत्माका रूपमा रहेको निर्वाचनमा कहिल्यै कुनै दलसँग चुनाव अगाडि गठबन्धन नगर्ने संकल्प विधानमै व्यवस्था गरियोस्।
४. कार्यशैलीगत सुधार
-केन्द्रीय समितिको बैठक, निर्णय र कार्यसूचीहरू सार्वजनिक गर्न डिजिटल प्लेटफर्म (पार्टी पोर्टल) अनिवार्य स्थापना गरियोस्।
-पार्टीका प्रत्येक क्रियाशील सदस्य, हरेक तहका पदाधिकारी र विभाग प्रमुखको वार्षिक कार्य-मूल्यांकन प्रणाली अनिवार्य रूपमा लागू गरियोस्।
-पार्टीभित्र हुने भ्रष्टाचार, गुटबन्दी र अनुशासनहीन गतिविधिविरुद्ध अब कडाइका साथ आन्तरिक नीति लागू गरियोस्।
-पार्टीभित्र बारम्बार मन्त्री भएकाहरूलाई फेरि अबसर प्राप्त भए दोहोर्याउने प्रवृत्ति बन्द गरी क्षमता र योग्यताका आधारमा नयाँलाई मौका दिइने नीति लिइयोस्।
-पार्टीभित्र पटकपटक सांसद र मन्त्री भइसकेकालाई आगामी निर्वाचनमा कुलिङ पिरियडमा राखी नयाँ योग्य युवाहरूलाई अवसर प्रदान गर्ने स्पष्ट निर्णय केन्द्रीय समितिले गरोस्।
अन्त्यमा
आज कांग्रेसले पुनः गम्भीर भएर आत्ममूल्यांकन गर्नुपर्ने घडी आएको छ। पार्टीले आफूलाई उदारवादी, जिम्मेवार र लोकतान्त्रिक शक्तिका रूपमा पुनःपरिभाषित नगरेसम्म जनताको विश्वास पुनःआर्जन गर्न सम्भव छैन। विगतका गल्तीहरू व्यक्ति केन्द्रित सोच र गुटीय स्वार्थका कारण भएका हुन्। अब पनि पार्टीभित्र आफ्नो आङमा जुम्रा नदेख्ने तर अर्काको भैँसी देख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ। साथै पार्टीभित्र एकले अर्कालाई धारे हात लगाउने संस्कार तोड्दै नीतिप्रधान, विधिप्रधान र विचारमा आधारित कांग्रेस निर्माण गर्नुपर्छ।
हाम्रो नयाँ पुस्ता मात्र होइन, नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ कार्यशैलीसहितको निष्ठा र नैतिकतामा आधारित नेतृत्वको बलमा कार्यकर्ताबीच हार्दिकतामा आधारित जनमुखी कांग्रेस बनाउनु आजको ऐतिहासिक आवश्यकता हो। यसै बाटोबाट मात्र अब कांग्रेस आधुनिक, उत्तरदायी र वैचारिक रूपमा सशक्त बन्नेछ र पुनः जनताको भरोसा, आशा र नेतृत्वको केन्द्रका रूपमा स्थापित हुनेछ।
[शाही कांग्रेस महासमिति सदस्य हुन्।]