काव्य शैलीमा ‘परान’ को टिजर सार्वजनिक

हिमाल प्रेस २६ असोज २०८२ १७:०४ | Sunday, October 12, 2025
काव्य शैलीमा ‘परान’ को टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘परान’ को टिजर सार्वजनिक भएको छ। टिजर ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा कवि नवराज पराजुलीको शब्द र उनकै स्वर छ। कविताका माध्यमबाट गीतमा जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त गरिएको छ।

कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो त्यसरी नै एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म साथ दिनुपर्ने कुरा बताइएको छ।

भिडियोमा फिल्मका मुख्य कलाकार नीर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। उनीसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अन्जना बराइलीलगायत कलाकार पनि देख्न सकिन्छ।

टिजरले फिल्ममा बाबु छोराको सम्बन्ध र त्यसको सामाजिक हैसियत तथा स्थिति परिस्थितिले उत्पन्न हुने ती सम्बन्धका उकाली ओरालीको कथा पेश गर्ने देखाएको छ।

फिल्म आगामी कार्तिक १४ मा प्रदर्शन हुनेछ। ‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु) निर्देशित फिल्ममा अन्य कलाकार यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायतको अभिनय छ। आचार्यको यो डेब्यु निर्देशन हो।

शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गरेका हुन्। फिल्म देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो।

प्रकाशित: २६ असोज २०८२ १७:०४ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast