
काठमाडौँ– बंगलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा नागरिक बेपत्ता पार्ने भूमिकामा सहभागी भएको भन्दै दुई दर्जन सैन्य अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको अभियोजनकर्ताहरूले बताएका छन्।
हसिनाको अवामी लिग सत्तामा रहेको १५ वर्षको अवधिमा सुरक्षा बलले कथित रूपमा बेपत्ता पारेका २५० भन्दा बढी घटनाहरूको जाँच आयोगले पुष्टि गरेको छ।
आयोगले लगभग एक हजार ७०० उजुरी प्राप्त गरेको छ।
सन् २०२४ को अगस्तमा विद्यार्थीको नेतृत्वमा भएको जनविद्रोहपछि ७७ वर्षीया हसिना ढाकाबाट हेलिकोप्टरबाट भारत आएकी थिइन्।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसीटी) मा सुनुवाइ भइरहेको जबर्जस्ती बेपत्ता पारेको मामिलामा उनलाई सह–अभियुक्तको रूपमा उल्लेख गरिएको छ।
न्यायाधिकरणले हसिनाको अपदस्थ सरकार र हाल प्रतिबन्धित उनको अवामी लिग पार्टीसँग सम्बन्धित पूर्ववरिष्ठ नेताहरूलाई मुद्दा चलाइरहेको छ।
यति ठूलो संख्यामा वरिष्ठ वरियताका कम्तिमा १६ जनरलसहित पूर्व र सेवारत सुरक्षा अधिकारीहरूले फौजदारी मुद्दाको सामना गर्ने सम्भावना रहेको यो पहिलोपटक हो।
अभियोजनकर्ताहरूले जबर्जस्ती बेपत्ता पार्ने दुई घटनासँग सम्बन्धित बुधबार आरोपपत्र बुझाएका थिए तर मानवअधिकार समूहहरूलाई उद्धृत गर्दै कुल मुद्दाको संख्या ७०० सम्म हुन सक्ने बताएका थिए।-रासस/एएफपी