
काठमाडौँ- गएको प्रतिनिधिसभामा सर्लाही-४ बाट स्वतन्त्र सांसद जितेका डा.अमरेशकुमार सिंहले नेपालको वर्तमान राजनीतिक संकट समाधानका लागि तत्काल निर्वाचनको वातावरण बनाउन प्रमुख दलहरूलाई आह्वान गरेका छन्।
हाल आफ्ना सन्तानको अध्ययनको सिलसिलामा भारतको देहरादुनमा रहेका डा.सिंहले नेपालको राजनीतिक परिदृश्य, दलहरूको आन्तरिक गतिशीलता र अन्तर्राष्ट्रिय चासोबारे विश्लेषण गर्दै निर्वाचनलाई मुलुकको स्थिरताको आधारस्तम्भको रूपमा जोड दिएका छन्।
जवाहरलाल नेहरू विश्वविद्यालय, दिल्लीमा राजनीति शास्त्र अध्ययन गरेका उनले यो क्षेत्रको भूराजनीति र अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधि गरेका छन्। डा.सिंह २०६२/६३ को जनआन्दोलनमा प्रवासी नेपालीको तर्फबाट सक्रिय भूमिकामा थिए। २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनले वर्तमान परिवेशमा दलहरूले आत्मसमीक्षा गर्दै लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउनुपर्ने बताए।
देहरादुनबाट टेलिफोन कुराकानीमा उनले भने,‘नेपालको विकासमा कुनै समस्या छैन, समस्या त सोचको हो। नेताहरू सत्ता र व्यक्तिगत लाभमा केन्द्रित हुँदा मुलुक अनिश्चिततातर्फ धकेलिएको छ। निर्वाचनमार्फत जनताको जनादेश प्राप्त गर्नु नै अहिलेको आवश्यकता हो।’
दलहरूको आन्तरिक चुनौती र नेतृत्व परिवर्तनको खाँचो
डा.सिंहका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्र निर्वाचनका लागि तयार देखिए पनि नेकपा एमालेमा भने हिचकिचाहट छ। उनले एमालेमा नेतृत्व परिवर्तनको पनि समस्या रहेको बताउँदै एमालेले पार्टीलाई गतिशील बनाउन नसकेको बताए। ‘एमालेमा नेतृत्व परिवर्तन नभए पार्टीको जीवन्तता गुम्ने जोखिम छ,’ उनले भने।
माओवादीमा पनि वर्तमान नेतृत्वलाई चुनौती आए परिवर्तन सम्भव भएको उनको विश्लेषण छ। कांग्रेसमा भने नेतृत्व परिवर्तनको सम्भावना प्रबल रहेको उनले बताए। वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि प्रश्न उठाउँदै उनले भने, ‘देउवाजी इमानदार र अनुभवी नेता हुन्, तर पछिल्लो समय गलत व्यक्तिहरूको प्रभावमा पर्नुभयो। उहाँले लोकतान्त्रिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुभयो भने उहाँको सम्मान अझै बढ्नेछ।’
उनले डा.शेखर कोइरालाको नेतृत्वमा कांग्रेस अघि बढ्ने र त्यसपछि नयाँ पुस्ता वा आफूहरूमध्ये कसैले पार्टीको बागडोर सम्हाल्ने विश्वास व्यक्त गरे। ‘हाम्रो पुस्ताले अब कांग्रेसलाई गति दिनेछ,’ उनले थपे।
वर्तमान नेपालको परिवेशमा संसद् विघटन र जेनजी आन्दोलनले सिर्जना गरेको तरंगले राजनीतिक दलहरूलाई निर्वाचनको तयारीमा जुट्न दबाब परेको छ। डा.सिंहले नेपालका छिमेकी मुलुक भारत र चीन, साथै पश्चिमा शक्तिहरूले पनि नेपालमा निर्वाचनमार्फत स्थिर सरकार बनेको हेर्न चाहेको बताए। ‘अन्तरिम सरकारका प्रधानमन्त्रीले पनि निर्वाचन गराउन विभिन्न छलफल गरिरहनुभएको छ। तर, दलहरूले यो प्रक्रियालाई गम्भीरतापूर्वक अघि नबढाए मुलुक अनिश्चितताको भुमरीमा फस्नेछ,’ उनले चेतावनी दिए।
संविधान सुधार र निर्वाचनको सन्तुलन अहिलेको आवश्यकता डा.सिंहले बताए। संविधान सुधारको आवश्यकता रहे पनि त्यो निर्वाचन पछि मात्र सम्भव हुने उनको भनाइ छ। ‘संविधानलाई समयानुकूल सुधार गर्नुपर्छ तर यो प्रक्रियालाई बहाना बनाएर निर्वाचन रोक्ने सोच घातक हुनेछ,’ उनले भने। संविधान सुधार र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउनुपर्ने उनको सुझाव छ।
‘दलहरूले आफ्नो आन्तरिक सुधार गर्दै जनताको विश्वास जित्ने गरी निर्वाचनमा जानुपर्छ। अन्यथा, मुलुक गम्भीर संकटमा पर्न सक्छ,’ उनले थपे।
विकासको बाधक : स्वार्थ केन्द्रित सोच
नेपालको विकासमा कुनै कमी नरहेको बताउँदै डा.सिंहले नेताहरूको स्वार्थ केन्द्रित सोचलाई प्रमुख बाधक ठहर गरे। ‘नेपालमा सम्भावना प्रशस्त छ, तर नेताहरू ‘आफू कमाउने, आफू सत्तामा रहने’ सोचबाट माथि उठ्न सकेका छैनन्। यो मानसिकताले नै मुलुक पछाडि परेको हो,’ उनले भने।
उनले युवा पुस्ता र नयाँ नेतृत्वले यो सोचलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए। सिंहले दलहरूलाई आन्तरिक लोकतन्त्र सुदृढ गर्न, नेतृत्व परिवर्तनलाई स्वीकार गर्न र जनताको विश्वास जित्ने नीति बनाउन सुझाव दिए। ‘कांग्रेस, एमाले र माओवादीले आफूलाई सच्याएर निर्वाचनको माहोल बनाउनुपर्छ। जनताको जनादेश नै अहिलेको संकट समाधानको एकमात्र बाटो हो,’ उनले भने।
देहरादुनमा रहँदा पनि राजनीतिक भेटघाट र छलफलमा व्यस्त डा.सिंहले नेपालको राजनीतिक स्थिरताका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनको यो आह्वानले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा नयाँ बहसको ढोका खोलेको छ। निर्वाचन, संविधान सुधार र दलहरूको आन्तरिक सुधारलाई सँगसँगै अघि बढाउन सकेमात्र मुलुकले स्थिरता र समृद्धिको बाटो पक्रन सक्ने उनको ठहर छ। ‘नेपालको भविष्य उज्ज्वल छ, तर त्यसका लागि नेतृत्वमा इमानदारी र दूरदृष्टि चाहिन्छ,’ उनले भने।