
काठमाडौँ- बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायु) को प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको छ। वर्षाका कारण आएको पहिरोले देशभरका प्रमुख राजमार्गमा सवारीसाधन आवागमन प्रभावित भएको छ। पृथ्वीराजमार्गका कतिपय ठाउँमा सडक अवरुद्ध भएको छ। गाडी नचल्दा दसैँका बेला ओहोरदोहोर गर्ने मानिसहरू प्रभावित भएका छन्।
कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। बीपी राजमार्गका विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मंगलटारमा सवारी साधन रोकेको छ।
यात्री र सवारीसाधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी दिए।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन्। बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो। मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन-काठमाडौँको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
नारायणगढ हुँदै काठामाडौँ जाने सवारीसाधनलाई चितवनमा रोकिएको छ। लोथरदेखि फिस्लिङ बजारसम्म ‘स्टपिङ प्लान’अनुसार सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार भरतपुर-मुग्लिन-पोखरा सडक सञ्चालनमा छ।
सरकारले २० गतेसम्म काठमाडौँबाट बाहिरिने र भित्रने सवारीसाधान आवातजावतमा रोक लगाएको छ। काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकामा सवारी आवतजावत आगामी तीन दिनका लागि पूर्ण रूपमा रोक लगाएको हो।
‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा फर्किन थालेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा फर्किन थालेको जानकारी दिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बीपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन फर्किन थालेको जानकारी दिए। उनले भने, ‘पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौँतिर फिर्ता भइरहेका छन्। यतिबेला उपत्यकाका चारैतिरका नाका बन्द छन्।’
बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन्। खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले बताए।
मौसम पूर्वानुमान महाशाखका अनुसार शनिबार काठमाडौँ उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको छ। पर्सा, रौतह, महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ। पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। उनका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागले शनिबार साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन्।
जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।
‘यी प्रदेशहरूमा शनिबार राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ’, उनले भने।