चीनको अन्तर्राष्ट्रिय विभागको प्रमुखमा लिउ हाइक्सिङ नियुक्त

हिमाल प्रेस १५ असोज २०८२ १५:३५
14
SHARES
चीनको अन्तर्राष्ट्रिय विभागको प्रमुखमा लिउ हाइक्सिङ नियुक्त

काठमाडौँ– चीनले आफ्नो अन्तर्राष्ट्रिय विभागको शीर्ष पदमा युरोपेली मामिलामा दीर्घ अनुभव भएका कूटनीतिज्ञ लिउ हाइक्सिङलाई नियुक्त गरेको छ। सरकारी मिडियाले बुधबार यसबारे जानकारी दिएको हो।

उनले लिउ जियानचाओलाई प्रतिस्थापन गरेका हुन्। जियानचाओ अनुशासनात्मक कारणले हिरासतमा रहेको आशंकाबीच गत जुलाईदेखि सार्वजनिक रूपमा देखिएका छैनन्।

अन्तर्राष्ट्रिय विभाग चीनको कम्युनिस्ट पार्टीअन्तर्गतको कूटनीतिक शाखा हो, जसले अन्य देशका राजनीतिक दलहरूसँग सम्बन्ध विस्तार गर्ने जिम्मेवारी लिन्छ।

६२ वर्षीय लिउ हाइक्सिङले आफ्नो कूटनीतिक जीवनको ठूलो हिस्सा युरोपमा विभिन्न पदमा बिताएका छन्। सन् २००९ देखि २०१२ सम्म उनी फ्रान्सस्थित चिनियाँ दूतावासमा मन्त्री थिए। त्यहीँ उनले सार्वजनिक प्रशासन पनि अध्ययन गरेका थिए।।

बेइजिङ फर्केपछि उनले सहायक विदेशमन्त्री र युरोपेली मामिला विभागका महानिर्देशकको रूपमा काम गरे। उनको पछिल्लो पद भने कम्युनिस्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राष्ट्रिय सुरक्षा आयोगको कार्यकारी उप–निर्देशकको थियो।

यस नियुक्तिपछि उनका पूर्ववर्ती लिउ जियानचाओको अवस्थाबारे प्रश्नहरू उठेका छन्। असम्बन्धित रहेका जियानचाओले सन् २०२२ जुनदेखि विभागको नेतृत्व गर्दै आएका थिए र महामारीपछिको कूटनीतिक अभियानअन्तर्गत विदेश भ्रमण गरेका थिए। उनी सम्भावित नयाँ विदेशमन्त्रीका रूपमा समेत चर्चामा थिए। तर, जुलाई अन्त्यदेखि उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

वाल स्ट्रिट जर्नलका अनुसार उनी अनुशासनात्मक अनुसन्धानका क्रममा हिरासतमा परेका छन्। यसअघि पनि तत्कालीन विदेशमन्त्री किन ग्याङ सन् २०२३ जुनमा रहस्यमय रूपमा बेपत्ता भएका थिए। उनपछि वाङ यीले पुनः पदभार सम्हाल्हेका थिए। पार्टीको आन्तरिक अनुसन्धानले किन ग्याङ विवाहेतर सम्बन्धमा संलग्न भएको पत्ता लगाएको बताइएको छ।

राष्ट्रपति सी जिनपिङले सन् २०१२ मा सत्तामा आएपछि अनुशासनात्मक शुद्धीकरण अभियानलाई कडा रूपमा अघि बढाएका छन्।

अहिलेसम्म ६० लाखभन्दा बढी अधिकारीलाई भ्रष्टाचार वा दुव्र्यवहारका लागि कारबाही गरिएको छ। तर, आलोचकहरूले यसलाई सी जिनपिङले आफ्ना विरोधीहरू हटाउन र शक्ति सुदृढ गर्न प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।

प्रकाशित: १५ असोज २०८२ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast