गगन-विश्वको खबरदारीपछि चाक्सीबारीमा जुटे देउवा निकट नेता

हिमाल प्रेस ५ असोज २०८२ १३:११
48
SHARES
गगन-विश्वको खबरदारीपछि चाक्सीबारीमा जुटे देउवा निकट नेता

काठमाडौँ- भदौ २३ गतेको जेनजी प्रदर्शन र त्यसपछिको हिंसात्मक घटनापछि नेपाली कांग्रेसभित्र नेतृत्वको भूमिकामाथि बहस चर्किएको छ। पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनको आवश्यकता औँल्याएका छन् भने प्रवक्ता प्रकाशशरण महतले यसलाई असमयको बहस भन्दै आपत्ति जनाएका छन्।

महामन्त्री थापाले शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री गगन थापाले २०४६ सालयता सार्वजनिक पद धारण गरेका सबै नेताको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरे। उनले आफू चार पटक सांसद र मन्त्री भएको स्मरण गर्दै भने, ‘मबाटै छानबिन सुरु होस्।’ साथै जेनजी आन्दोलनमाथि भएको सरकारी दमन र त्यसपछिको घुसपैठ दुवै घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ।

थापाले कांग्रेसभित्र पनि गहिरो आत्मसमीक्षा आवश्यक भएको भन्दै विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व चयन गर्ने वा नयाँ क्रियाशील सदस्यता खोलेर १५ औँ महाधिवेशन गर्ने दुई विकल्प प्रस्तुत गरे। उनले भने, ‘पार्टीभन्दा माथि देश हुन्छ। सुधारको यो अभियानबाट पछि हट्दिनँ।’

कांग्रेस प्रवक्ता महतले भने नेतृत्वमाथि सांघातिक आक्रमण भइसकेको संवेदनशील अवस्थामा पनि पार्टीकै जिम्मेवार नेताले असमयमा बहस उठाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। महतले आइतबार पत्रकार सम्मेलन गर्दै उनले भने,  ‘आलो घाउ ठिक नहुँदै पार्टीभित्र सुरु गरिएको बहसप्रति गम्भीर होऔँ। अहिले पार्टी एक भएर अघि बढ्ने बेला हो, आलो घाउमा नुन छर्ने बेला होइन।’

महतले सभापति देउवामाथि भएको आक्रमणपछि उपचार सकिन नपुगेसम्म पर्खिनुपर्ने भन्दै नेतृत्वबारे छलफल पार्टीका संरचनामार्फत मात्र हुनुपर्ने बताए। उनले भने, ‘अभिभावकमाथि प्रहार हुँदा उपचार पूरा नहुँदासम्म पर्खिनुपर्दैन? आकाश खस्छ?’ महतले असमयको बहसले पार्टी मात्र नभई देशलाई अस्थिरतातर्फ धकेल्न सक्ने बताए।

भदौ २५ गते महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले सत्तालाई जवाफदेही बनाउन गरेका आफूहरूका प्रयास अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा आत्मालोचना गरेका थिए।

उनीहरूले अपिल जारी गर्दै भनेका थिए, ‘अब फेरिएको यस परिस्थितिमा युवाहरुको आकांक्षा र अपेक्षाअनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौँ।’ उनीहरूले अबको नेपाली कांग्रेस आमजनताको अपेक्षा, जेनजी युवाहरुको भावना र अन्य भिन्न पुस्ताको अभिमतसमेतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि आउने प्रतिबद्धता जनाएका थिए।

भदौ २३ र २४ गतेका घटनापछि कांग्रेसभित्र सुरु भएको यो बहस पार्टीको आगामी दिशा र नेतृत्वमा ठूला प्रश्न उठाइरहेको छ। अब पार्टीले आन्तरिक एकता कायम गर्दै सुधार र स्थायित्वबीच सन्तुलन कसरी गर्ने भन्ने चुनौती थपिएको जानकारहरू बताउँछन्। कांग्रेस संस्थापन नेताहरू फेरि एकजुट हुन थालेका छन्। महामन्त्रीद्वयले नेतृत्व फेर्नुपर्ने कुरा उठाएपछि ‌संस्थपनपक्षधर नेताहरू जमघटमा जुटेका हुन्।

आइतबार कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सभापति पक्षधर नेताहरू भेला भएका थिए। छलफलमा पूर्वमहामन्त्री सिंह, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत सहभागी भएका हुन्। पार्टी प्रवक्ता महतका अनुसार नेताहरूबीच आन्तरिक गतिविधिका विषयमा संवाद भएको छ।

‘अहिलेको परिस्थितिबारे कुराकानी भयो। नेतृत्वका विषयमा समेत केही छलफल गरियो’, प्रवक्ता महतले हिमालप्रेससँग भने, ‘अहिल्यै नेतृत्वका विषयमा कुरा गर्न कत्तिको जायज होला। अब सभापति निको भएपछि बैठक बोलाएर संवाद गरौँ भन्ने विषयमा संवाद भयो।’ महतका अनुसार पार्टीमा समस्या परेका बेला एकजुट भएर अघि बढ्न नेताहरूले सुझाव दिएका थिए। प्रदर्शनकारीको आक्रमणबाट घाइते सभापति शेरबहादुर देउवा उपचार गराइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast