रास्वपाले ‘सद्भाव र सहकार्य’ अभियान सञ्चालन गर्ने

हिमाल प्रेस २ असोज २०८२ २१:१९ | Thursday, September 18, 2025
रास्वपाले ‘सद्भाव र सहकार्य’ अभियान सञ्चालन गर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘सद्भाव र सहकार्य’ अभियान सञ्चालन गर्ने भएको छ। आज (बिहीबार) पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थालाई लिएर समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जाननकारी दिए।

साथै असहमतिलाई वैमनश्यताबाट होइन संवाद र सहिष्णुताबाट समाधान गर्न पार्टीको प्रतिबद्ध रहेको जनाइएको छ। रास्वपाले विदेशमा बस्ने नेपाली नागरिकहरुले मतदान गर्ने अधिकारका विषयमा वर्तमान सरकारले देखाएको चासोको स्वागत गरेको छ। साथै पार्टी आफैँले उठाएको मुद्दा र यस प्रक्रियाको ब्लुप्रिन्ट आफूहरुसँग रहेकाले अन्तरिम सरकारलाई आवश्यक सहयोग गर्न पनि प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।

‘प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावासरकन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायलाई प्रस्ताव गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जेनजी पुस्ताका धेरै नागरिकहरू मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै, मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।’

प्रवक्ता झाले पार्टीको केन्द्रीय समितिको बैठक २०८२ आश्विन ७ गते केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए। पार्टीको आगामी कार्यदिशा सम्बन्धी बृहत छलफलका लागि केन्द्रीय विस्तारित बैठक बोलाउने सम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा पेस गरिने उनको भनाइ छ।

यस्तै पार्टीले पहिलो महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा निर्वाचन घोषणा भइसकेपछि यसबारे विस्तारित बैठकमा छलफलका लागि प्रस्ताव गरिने उनले बताए।

प्रकाशित: २ असोज २०८२ २१:१९ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast