जेनजीका माग वर्तमान संविधान र संसदभित्रैबाट सम्बोधन गर्नुपर्छ : माधव नेपाल

हिमाल प्रेस २६ भदौ २०८२ १६:२५ | Thursday, September 11, 2025
जेनजीका माग वर्तमान संविधान र संसदभित्रैबाट सम्बोधन गर्नुपर्छ : माधव नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जेनजी पुस्ताले उठाएका मागको सम्बोधन वर्तमान संविधान र संसदभित्रैबाट गर्नुपर्ने धारणा राखेका छन्।

अध्यक्ष नेपालले बिहीबार विज्ञप्ति निकालेर लोकतन्त्रविहीन राज्यमा भ्रष्टाचार र कुशासनविरूद्धका आन्दोलन त के बोल्न पनि नपाइने भएकाले वर्तमान संविधान र संसदभित्रैबाट समाधान खोज्नुपर्ने बताएका हुन्।

‘जेनजी पुस्ताले उठाएका मागको सम्बोधन वर्तमान संविधान र संसदभित्रैबाट गर्न सकिन्छ। भ्रष्ट नेताहरूलाई कारबाही गर्न सकिन्छ, उच्चस्तरीय छानबिन आयोग गठन गर्न सकिन्छ, संविधान संशोधन गरेर जेनजीले भने जस्तो बनाउन सकिन्छ। छिटोभन्दा छिटो संविधान संशोधन गरेर चुनावमा जानका सकिन्छ र ताजा जनादेश लिएर सरकार चलाउन सकिन्छ।’ नेपालले भनेका छन्।

जेनजी पुस्ताको माग लोकतन्त्र अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने भए पिन घुसपैठियाले लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षडयन्त्र गरिरहेको नेपालले जिकिर गरेका छन्।

‘जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन थिएन। तर, लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दैछन्,’ उनले भनेका छन्।

लोकतन्त्र नै नरहे सामाजिक सञ्जालमात्र होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्वतन्त्रतालगायतका मौलिलक हक र नागरिक अधिकार खोसिने भन्दै उनले जेनजी पुस्तालाई सचेत हुन अनुरोध गरेका छन्।

प्रकाशित: २६ भदौ २०८२ १६:२५ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast