‘पुस्तकालयको भूमिका अझै बलियो बनाऔँ’

हिमाल प्रेस १५ भदौ २०८२ १४:५५
12
SHARES
‘पुस्तकालयको भूमिका अझै बलियो बनाऔँ’

काठमाडौँ- प्रविधिको अतिक्रमणबाट पठन संस्कृतिलाई जोगाउन विगतमा भन्दा अझ सशक्त रूपमा काम गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। १८औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा राजधानीको पिपुल्स क्याम्पसमा आयोजित कार्यक्रममा वक्ताहरूले पुस्तकालयलाई युग सुहाउँदो ढंगले प्रवर्धन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

क्याम्पस प्रमुख मनोज कुँवरले पुस्तकालयको महत्त्वबारे बोल्दै भने, ‘पुस्तकालय जाने संस्कृति नै हराउला कि भन्ने डर छ। त्यसैले सचेतना जगाउन यो कार्यक्रम आयोजना गरिएको हो।’ उनले पठन संस्कृतिले पेसागत सफलता, व्यक्तिगत विकास र सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

सहायक प्रमुख रोजेश पण्डितले पुस्तकालयलाई ‘ध्यान केन्द्र’ सँग तुलना गर्दै भने, ‘पुस्तकालयमा गएर नपढे पनि त्यहाँको शून्यता र भव्यताले जीवनलाई सुसंस्कृत बनाउन सहयोग पुर्‍याउँछ।’

नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले देशभर ९२८ सार्वजनिक तथा सामुदायिक पुस्तकालयमध्ये मात्र २२७ सञ्चालनमा रहेको तथ्यांक प्रस्तुत गरे। उनका अनुसार सामुदायिक पुस्तकालयले पठन प्रवर्धन मात्र नभई महिला सशक्तीकरण र समाज रूपान्तरणमा समेत सकारात्मक प्रभाव पारिरहेका छन्। ‘अब पुस्तकालयलाई ज्ञान र आनन्दको केन्द्र बनाउनुपर्ने चुनौती छ’, उनले भने।

कार्यक्रममा पुस्तकालय विज्ञ जानकी कर्माचार्य, रेश्मा डंगोल, प्राध्यापक प्रमोद शर्मा, शिक्षा मन्त्रालयका उपसचिव प्रेमराज अधिकारी र त्रिवि केन्द्रीय पुस्तकालयका विजय शर्माले पुस्तकालयका विविध आयामबारे विचार व्यक्त गरेका थिए।

नेपालमा पुस्तकालय दिवस १८६९ भदौ १५ गते राजा गीर्वाणयुद्ध विक्रम शाहले ‘पुस्तक चिताइ तहविल’ सम्बन्धी नीति नियममा लालमोहर जारी गरेको स्मरणमा मनाइन्छ। औपचारिक रूपमा भने २०६५ सालदेखि नेपाल पुस्तकालय संघको संयोजकत्वमा पुस्तकालय दिवस मनाउन थालिएको हो।

प्रकाशित: १५ भदौ २०८२ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast