 
                             
                                            काठमाडौँ- सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सामाजिक सञ्जालमा नेपालको नक्सा र उनको तस्बिरसहित केही विवरण लेखेर पोस्ट गरे। त्यसमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी, जय जय-नेपाल!’ लेखिएको छ। उक्त तस्बिर एमालेका धेरै कार्यकर्ताले सेयर मात्रै गरेका छैनन् सफ्टवेयरको प्रयोग गरेर ओलीका सट्टा आफ्नो तस्बिर राखेर पोस्ट गरिरहेका छन्।
चीन र भारतबीच नेपाली भूमि लिपुलेकमा कैलाश मानसरोवर ओहोरदोहोर गर्न बाटो खाेल्ने सहमति भएपछि नेपालमा त्यसको आलोचना भइरहेको छ। दुई ठूला मुलुकले नेपाललाई थाहै नदिई नेपाली भूमिमाथि अतिक्रमण गरेको भनेर टिप्पणी भइरहेको हो। यति बेला प्रधानमन्त्री ओली चीन भ्रमणमा छन्। उनले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग नेपाली भूमि प्रयोगका विषयमा कुराकानी गरेको सरकारी सञ्चारमाध्यम राससले जनाएको छ। नेपाली पक्षले सीसँग लिपुलेकका विषयमा चिनियाँ नेतासँग कुराकानी भएको बताए पनि चीनले सार्वजनिक गरेको वक्तव्यमा नेपालको नाम उल्लेख छैन। यस्तो अवस्थामा नेपालको नक्सा र मातृभूमिको माया दर्शाउँदै ओलीले सार्वजनिक गरेको तस्बिरलाई लिएर अनेक खालका टीकाटिप्पणी भइरहेको छ।
यस्तै टिप्पणी गर्नेमध्येका एक हुन् विश्लेषक केशव दाहाल। उनले नेपालको भूमिलाई लिएर उडन्ते नबन्न सुझाव दिएका छन्। ‘पपुलिस्ट राजनीतिको गुरु नेकपा एमाले हो भन्नेकुरा तपाईँलाई विश्वास लाग्दैन भने, एमालेका झोलेहरूको आजको फेसबुक पोस्ट हेर्नुस्, चित्र आफैँ खुल्छ।’ उनको बुझाइमा प्रधानमन्त्रीले चीन पुगेर लिपुलेकको कुरा गर्नु अवश्य नै राम्रो कुरा हो। दाहालको प्रश्न छ- तर यो उनको नियमित काम होइन? भोलि प्रधानमन्त्री आफ्नै अफिस सिंहदरबार आउँदा पनि हर्षबढाइँ गर्ने?’
विश्लेषक दाहाल चीनमा ओलीले यो विषय उठाए पनि युद्ध जितेझैँ गरेर विषयलाई यसरी अतिरञ्जित गर्न जिम्मेवार दललाई नसुहाउने बताउँछन्। वामपन्थी राजनीतिका जानकारसमेत रहेका उनले भनेका छन्, ‘एमालेका साथीहरू कृपया यतिधेरै उडन्ते पनि नहुनुहोस् कि पपुलिस्टहरू स्वयं आफ्नो गुरुलाई देखेर लज्जित बनुन्।’
एमाले स्थायी कमिटी सदस्य एवम् पार्टी परराष्ट्र विभागका पूर्वप्रमुख डा. राजन भट्टराई भने तस्बिरमार्फत एमाले नेताकार्यकर्ताले मातृभूमिप्रतिको श्रद्धा दर्साएको दाबी गर्छन्। उनले भने, ‘हामीले आफ्नो देशप्रति माया झल्काएको हो। अरू धेरै होइन।’
एमालेका युवा नेता गोविन्द गिरी पनि राष्ट्रवादबारे आमनेपालीले स्पष्ट धारणा राख्नुपर्ने बताउँछन्। ‘हिजो प्रधानमन्त्रीज्यू (केपी शर्मा ओली)ले अडानका साथ नेपालको बारेमा कुरा उठाउनुभयो। त्यसलाई समर्थन गर्ने गरी हामीले प्रचार गरेका हौँ,’ गिरी भन्छन्, ‘हामीले हाम्रो भूभाग (लिपुलेक) मा अडान राख्नैपर्छ। प्रधानमन्त्रीले जसरी अडान राख्नुभयो। हामीले पनि हाम्रोतर्फबाट अडान राख्नुपर्छ भन्ने हो।’
उनी ऐतिहासिक दस्तावेज हेर्दा लिपुलेक नेपालकै रहेको प्रस्ट हुने बताए। गिरीले भने, ‘सुगौली सन्धि तथा अन्य दस्तावेजमा नेपालकै भूमि भनिएको विषयमा हामी किन डराउने? हाम्रो भूमि ल्याउन लाग्नुपर्यो नि।’ यस विषयमा प्रधानमन्त्रीलाई समेत साथसहयोग आवश्यक भएर प्रचार गरिएको उनले बताए।
कसरी सुरुभयो भाइरल तस्बिर?
यो तस्बिर पहिला प्रधानमन्त्री ओलीको सचिवालय पोस्ट गर्न थालेको हो। त्यो तस्बिर‘टुवीबोनिज डटकम’ भन्ने एप्सेमा बनाइएको हो। जुन एप्स सहजै फेसबुकमा लिंक गर्न सकिन्छ। जसमा सबै विवरण राखिएको छ भने आफ्नो तस्बिर राखेर प्रकाशित गर्न सकिन्छ। एमाले कार्यकर्ताहरू सोही एप्समा तस्बिर बनाइरहेका छन्।
एमाले स्रोतका अनुसार यसबारे सबै कार्यकर्तालाई प्रचार गर्न बाध्य पारिएको छैन।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 