
ललितपुर- ललितपुर महानगरपालिका-४ शान्तिकुना मार्गस्थित डेरामा अनलाइन जुवा (सट्टावाजी) र लागुऔषधसहित एक युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीले संयुक्त रूपमा गरेको अपरेशनका क्रममा सिन्धुली कमलामाई नगरपालिका-२ पिपलभन्ज्याङ स्थायी घर भएका २६ वर्षीय गौरव स्याङ्तान पक्राउ परेका हुन्।
प्रहरीका अनुसार शान्तिकुनास्थित डेराकोठामा खानतलासी गर्दा ठूलो मात्रामा नगदसहित विभिन्न इलेक्ट्रोनिक उपकरण र गाँजाजस्तो देखिने पदार्थ समेत बरामद भएको छ।
बरामद सूचीअनुसार प्रहरीले ५०० र १००० दरका नोटमा जम्मा रु. ९१ लाख ५० हजार नगद, नोट गन्ने मेसिन १ थान, तौल गर्ने तराजु १ थान, १.५ किलो गाँजा, विभिन्न कम्पनीका ११ थान मोबाइल सेट, एक थान ल्यापटपलगायत सामान बरामद गरेको छ।
प्रहरीले बरामद सामग्रीसहित स्याङ्तानलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान अघि बढाएको जनाएको छ।