चौबीस घण्टामा १७ स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा

हिमाल प्रेस ६ भदौ २०८२ ७:२१
8
SHARES
चौबीस घण्टामा १७ स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका धेरै भागमा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार कोशीदेखि सुदूरपश्चिमसम्म हल्का, मध्यम, भारीदेखि धेरै भारी वर्षा मापन भएको छ।

तथ्यांकअनुसार १७ स्थानमा १०० मिलिमिटरभन्दा बढी पानी परेको छ। कास्कीको रिवनमा सबैभन्दा बढी १४८.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यसपछि रुकुम पूर्वको बाफीकोटमा १४६.८ मिलिमिटर, रूपन्देहीको लुम्बिनीमा १४१.८ मिलिमिटर, कास्कीको यमजाकोटमा १३१.१ मिलिमिटर, घलेखर्कमा १२९ मिलिमिटर र पोखरामा १०५.२ मिलिमिटर वर्षा भएको छ।

यस्तै, लमजुङको भूजुङमा ११०.८, गोरखाको बारपाकमा १०३.४, सिन्धुपाल्चोकको बोल्डेमा १०५.२, पाल्पाको जाल्पामा ११५.६, हात्तीलुङमा ११६.६, रूपन्देहीको तिलोत्तमामा ११२.४, नवलपरासी पश्चिमको देउराली नवलमा १०२, परासीमा १००.२ र भैरहवामा १०३.२ मिलिमिटर वर्षा भएको छ।

५० देखि १०० मिलिमिटरबीचको वर्षा पनि धेरै स्थानमा मापन गरिएको महाशाखाले जनाएको छ। विशेषगरी कोशीका केही स्थान, बागमतीका विभिन्न ठाउँ र गण्डकी-लुम्बिनी प्रदेशका धेरै भागमा भारी वर्षा भएको छ। तर, यसअघि सुख्खाग्रस्त घोषणा गरिएको मधेश प्रदेशमा भने केवल हल्का वर्षा मात्र भएको देखिएको छ।

मौसमको वर्गीकरणअनुसार १० मिलिमिटरसम्म हल्का, १०-५० मिलिमिटर मध्यम, ५०-१०० मिलिमिटर भारी, १००-२०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा अति भारी मानिन्छ।

हाल मनसुन सक्रिय रहँदा न्यूनचापीय रेखा सरदर स्थान नजिकै रहेको महाशाखाले जनाएको छ। शुक्रबार अपराह्न काठमाडौँ उपत्यका लगायतका स्थानमा आंशिक मौसम सफा भए पनि बेलुकीतिर वर्षा हुने क्रम जारी रहने अनुमान छ।

शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा र तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।

शुक्रबार राति गण्डकी र सुदूरपश्चिमका पहाडी भागमा भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ६ भदौ २०८२ ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast