मानसिक समस्या बढ्दै छ बालबालिकामा

रमा केसी ८ भदौ २०८२ १२:२०
46
SHARES
मानसिक समस्या बढ्दै छ बालबालिकामा प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीसँग परामर्श लिँदै बिरामी। तस्बिर : रमा केसी

सुर्खेत- जब विद्यालयमा तेस्रो घण्टी बज्छ, ९ कक्षामा अध्ययनरत एक छात्रा चिच्याउँदै रुन थाल्छिन्। रुँदै गर्दा टाउको दुखेको र पेट दुखेको बताउँछिन्। त्यसपछि कक्षाकोठाभित्रै बेहोस् हुन्छिन्। सहपाठी पनि रुँदैकराउँदै कक्षाकोठाबाट बाहिरिन्छन्। विद्यालयको चौरमा पुगेका विद्यार्थी पनि कोही बेहोस हुन्छन् त कोही भागाभाग गर्छन्।

सुर्खेतको वीरेन्द्रनगर-१, ढोडेखालीमा अवस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयका लागि यस्तो स्वास्थ्य समस्या ठूलो टाउको दुखाइ बनेको छ। यही समस्याका कारण विद्यालयको पठनपाठन प्रभावित भएको प्रधानाध्यापक रुद्रबहादुर खत्री बताए।

खत्रीका अनुसार विद्यालयका करिब २७ जना विद्यार्थीमा यो समस्या देखिने गरेको छ। ‘पहिला त हामी आत्तिने गरेका थियौँ। अहिले सामान्य लाग्न थालेको छ। तैपनि पठनपाठनमा असर परेको छ,’ उनले भने, ‘हामीले यो समस्या अभिभावकदेखि सरोकारवाला निकायमा सुनाएका छौँ।’

उनले समस्याबाट पीडित छात्रा टाउको दुखेको, पेट दुखेको कारण देखाउँदै कक्षा छोडेर घर जाने गरेको बताए। प्रधानाध्यापक खत्रीका अनुसार विद्यालयमा पहिलोपटक २०५२ सालमा यस्तो समस्या देखिएको थियो। त्यसपछि २०७१ मा देखिएको समस्या समाधान हुन सकेको छैन।

चिकित्सकका अनुसार त्रिपुरेश्वर माविका छात्रामा देखिएको यो मानसिक रोग नभए पनि एक प्रकारको मष्तिस्कसम्बन्धी रोग हो। पहिले-पहिले यसलाई छारेरोग भन्ने गरिए पनि हिजोआज यसलाई ‘कन्भर्जन डिसअर्डर’ भन्ने गरिन्छ। यद्यपि यसले बालबालिकाको शिक्षा र समग्र विद्यालयको शैक्षिक वातावरणमा प्रभाव पार्ने गरेको छ।

यस्तो समस्याबाट कर्णाली प्रदेशका अन्य विद्यालयसमेत पीडित छन्। प्रदेश अस्पताल सुर्खेतका मनोविद् पूर्णबहादुर रावत त्रिपुरेश्वर माविका छात्रामा देखिएको जस्तै समस्या सुर्खेत उपत्यकाभित्रका अन्य विद्यालयमा रहेको बताउँछन्।

‘बालबालिकामा मनोसामाजिक समस्याले शिक्षामा प्रत्यक्ष असर पार्छ। त्यसैले समयमै यसको उपचार गर्नुपर्छ’, उनले भने। वीरेन्द्रनगर-५ का ११ वर्षीय एक बालक साढे १ वर्षदेखि मानसिक रोगको औषधी सेवन गरिरहेका छन्। उनलाई अभिभावकले परीक्षणका लागि नियमितजसो प्रदेश अस्पताल कालागाउँ लैजान्छन्।

ती बालकले भने, ‘औषधी खाइरहेको छु, तर सन्चो भएको छैन। राति निद्रा लाग्दैन, भोग पनि लाग्दैन। खाली टाउको दुख्छ, पेट दुखिरहन्छ।’ बाबाको माया के हो? पढाइ कस्तो छ? भविष्यमा के गर्ने? उनको मनमा खेलिरहने यस्ता प्रश्नले उनी झन् गहिरो मानसिक समस्यामा फस्दै गएका छन्।

दैलेखको गुराँस गाउँपालिका-८ का वर्षीय एक बालक त्यस्तै समस्याबाट पीडित भएर प्रदेश अस्पतालमा भर्ना भएका छन्। दुई वर्षको उमेरमा मष्तिस्कसम्बन्धी समस्याबाट पीडित उनलाई सुरुमा घरमै कोठामा थुनेर राख्न थालियो। अहिले वडा सहयोगमा प्रदेश अस्पतालमा उपचार गराइरहेका छन्। यसले गर्दा उनको पढाइ रोकिएको छ।

कर्णालीका ४.६ प्रतिशत बालबालिकामा मानसिक समस्या

राष्ट्रिय जनगणना-२०७८ को तथ्यांकअनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२० मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार तीमध्ये ११.७ प्रतिशत व्यक्ति कुनै न कुनै मानसिक समस्याबाट प्रभावित छन्। मानसिक समस्या झेल्नेमा बालबालिका ४.६ प्रतिशत छन्।

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार एउटा व्यक्ति स्वस्थ हुनका लागि उसको शारीरिक, मानसिक र सामाजिक अवस्था ठिक हुनुपर्छ। यी तीनमध्ये कुनै एक अवस्था ठिक नभएको व्यक्ति रोगी (बिरामी) हो। बिरामी व्यक्तिले आफ्नो जीवन राम्ररी अघि बढाउन सक्दैन। त्यसर्थ कर्णालीका करिब ४ दशमलव ६ प्रतिशत बालबालिकालाई अहिले पनि मानसिक स्वास्थ्य समस्याकै कारण उचित शिक्षा आर्जनमा बाधा पुगेको छ।

राष्ट्रिय बालअधिकार परिषद्का समन्वय अधिकृत डम्बरबहादुर रोकाया सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगका कारण पनि बालबालिकामा मनोसामाजिक समस्या बढेको बताउँछन्। ‘यसको असर बिस्तारै शिक्षामा पनि पर्ने गरेको छ, त्यसैले सरोकारवाला निकायले बेलैमा यस समस्यामा गम्भीर बन्न आवश्यक छ,’ उनले भने।

मानसिक रोगबाट कर्णलीका बालबालिकामात्र होइनन्, देशभरका बालबालिका प्रभावित भइरहेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२० मा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार १३ देखि १७ वर्ष उमेर समूहका ५.२ प्रतिशत बालबालिकामा मानसिक समस्या देखिएको छ। मानसिक रोगकै कारण बर्सेनि आत्महत्याका घटना बढेको प्रतिवेदनमा उल्लेख छ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार विद्यालय पढ्ने उमेर समूहका बालबालिकाले पनि आत्महत्या गर्ने गरेको देखिन्छ। चालू आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म कर्णाली प्रदेशभर १ सय ७५ जनाले आत्महत्या गरेका छन्, तीमध्ये बालबालिकाको संख्या २६ छ।

आर्थिक वर्ष २०७४/०७५ देखि २०८०/०८१ सम्म ८ वर्षको तथ्यांक झन् डरलाग्दो छ। यस अवधिमा कर्णालीमा १ हजार ९ सय ८० व्यक्तिले आत्महत्या गरेका छन्। ७ वर्षमा आत्महत्या गर्ने बालबालिकाको संख्या २ सय ७३.१४ प्रतिशत) रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी शिवकुमार श्रेष्ठ बालबालिकाले गरिबी, मानसिक समस्या र क्षणभरको आवेगमा आएर आत्महत्या गर्ने गरेका बताउँछन्। घरेलु हिंसा, आमाबुवाको कुटपिट तथा गालीले पनि कतिपय बालबालिकाले आत्महत्या गरेका अनुसन्धानका क्रममा देखिएको उनले बताए। ‘कतिपय किशोर–किशोरीले यौनजन्य हिंसा, प्रेम र पढाइमा असफलता, आत्मविश्वासमा कमीजस्ता कारणले आत्महत्या गरेका छन्,’ उनले भने।

विद्यालयमा सिर्जित मानसिक समस्या

वीरेन्द्रनगरको एक निजी विद्यालयमा ५ कक्षामा अध्ययनरत १० वर्षीय बालकमा विद्यालय जान नमान्ने, घरमा राम्ररी खाना पनि नखाने, सुत्दा झस्किने समस्या देखियो। समस्या लामै देखिएपछि बालकका अभिभावकले त्यसको खोजी गरे। ‘छोरासँग कुरा गर्दा होमवर्क (गृहकार्य) धेरै हुने गरेको र गृहकार्य गरेर नजाँदा सरले पिट्ने कुरा बतायो,’ बालककी आमाले भनिन्, ‘पछि हामीले स्कुलमै गएर प्रिन्सिपलसँग कुरा गर्नुपर्‍यो, अहिले छोरालाई त्यस्तो समस्या केही कम भएको छ।’

विद्यालयमा बालमैत्री शिक्षण सिकाइ नहुने, दण्डसजाय दिने, बालबालिकालाई उनीहरुको शारीरिक क्षमताभन्दा बढी पुस्तक बोकाउने र गृहकार्य दिने प्रवृत्तिले पनि बालबालिका मनोसामाजिक समस्याको सिकार भइरहेका छन्।

शिक्षा पत्रकार समूहले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा २०८० मा प्रकाशन गरेको ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठी’ नामक पुस्तकमा यसको दृष्टान्त देख्न सकिन्छ। समूहले प्रदेशका ५८ स्थानीय तहमा रहेका विद्यालयबाट ३ सय १२ विद्यार्थीको चिठी संकलन गरेको थियो।

बालबालिकाले विभिन्न कारणले शिक्षण सिकाइ प्रक्रियामा चुनौती भोग्नुपरेको गुनासो चिठीमार्फत व्यक्त गरेका छन्। शिक्षकहरुको व्यवहारगत समस्या, बालमैत्री शिक्षण सिकाइ र कक्षाकोठा नहुँदा समस्या हुने गरेको बालबालिकाको भनाइ छ।

चिठी पठाएकामध्ये ३८ जना (१२.१७ प्रतिशत) बालबालिकाले शिक्षकहरुको व्यवहार बालमैत्री नभएको बताएका छन्। त्यसैगरी १९ जना (६.०८ प्रतिशत) बालबालिकाले बालमैत्री कक्षाकोठा नभएको गुनासो गरेका छन्। बालबालिकाको मानसिक तथा समग्र स्वास्थ्यलाई विद्यालयले नजिकबाट हेरेको खण्डमा यस्तो समस्या फैलिनबाट रोकिने सरोकारवालाहरु बताउँछन्।

समाधानको खोजी

घरायसी तथा सामाजिक वातावरण, शिक्षकको व्यवहार, शिक्षण सिकाइ गतिविधि, साथीहरुसँगको सम्बन्ध आदि प्रतिकूल हुँदा बालबालिका तथा किशोरकिशोरीमा निराशा, डर, चिन्ता, विकृत तनाव, आचरणजन्य प्रतिकूलताले भावनात्मक तथा व्यावहारिक समस्या देखिन्छन्।

प्रदेश अस्पतालकी मनोविमर्शकर्ता गीता केसी सरकारले विद्यालय तहमा मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने बताउँछिन्। ‘बालबालिकाको मानसिक स्वास्थ्य बिग्रियो भने त्यसले उनीहरुको शिक्षामात्र कमजोर हुँदैन, उनीहरुको जीवनै अँध्यारोतर्फ धकेलिन्छ,’ उनी भन्छिन्, ‘यसका लागि सरकारले शिक्षण क्रियाकलाप जत्तिकै विद्यालयमा बालबालिकाको मानसिक स्वास्थ्यलाई ध्यान दिनुपर्छ।’

प्रदेश अस्पतालका मनोविद् पुर्ण रावत मानसिक समस्याका बारेमा समुदाय र विद्यायस्तरमा संवादको आवश्यकता रहेको औँल्याउँछन्। संवाद अभावले आत्महत्यासँग जोडिएका परम्परागत रूढिवादी सोचले यसलाई प्रोत्साहित गरिरहेको र विशेषगरी किशोरकिशोरी तथा युवा वर्गमा यसबारे सचेतना फैलाउनुपर्ने उनको भनाइ छ। ‘यस समस्याले बालबालिकामात्र नभई हरेक उमेरका व्यक्तिलाई नराम्ररी गाँजेको छ, त्यसैले अब मानसिक समस्याका बारेमा पनि संवाद जरुरी भइसकेको छ’, उनले भने।

प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले मानसिक समस्याले मान्छेलाई आत्महत्या गर्नेसम्मको अवस्थामा पुर्‍याउने भएकाले सरकार र सरोकारवाला निकायले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।

कर्णाली प्रदेशका जिल्लास्थित अस्पतालहरुमा मानसिक स्वास्थ्य सेवाको प्रबन्ध मिलाइनुपर्छ। सुर्खेतबाहेक ९ जिल्लामा मनोपरामर्श सेवा उपलब्ध भए पनि मानसिक रोग विशेषज्ञको अभाव रहेको सेवा प्रवाहमा समस्या भएको डा. समदर्शीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast