स्कटल्यान्डमाथि नेपालको शानदार जित, लिग-२ मा पाँचौं स्थानमा उक्लियो

हिमाल प्रेस ४ जेठ २०८३ १५:३२ | Monday, May 18, 2026
8
SHARES
स्कटल्यान्डमाथि नेपालको शानदार जित, लिग-२ मा पाँचौं स्थानमा उक्लियो

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। योसँगै नेपालले जारी शृंखलामा दोस्रो जित हात पार्दै अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट अविजित ७४ रनको योगदान दिए। उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै नेपालको इनिङ सम्हाले। इशानले ६१ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५५ रन बनाए।

यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। कुशल २८ तथा आसिफ २९ रनमा आउट भए। त्यसपछि रोहित र इशानले नेपालको ब्याटिङलाई मजबुत बनाएका थिए।

उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे। स्कटल्यान्डका मार्क वाटले २ तथा ब्रेन्डन म्याकमुलेनले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमै समेटिएको थियो। स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेनले आक्रामक ७३ रन बनाए। उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। माइकल इंग्लिसले ७२ बलमा ५१ रनको योगदान दिए।

यसबाहेक जर्ज मुन्सेले २१, कप्तान रिची बेरिङ्टनले १२ तथा मार्क वाटले २० रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि स्पिनर ललित राजवंशी घातक सावित भए। उनले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट हात पारे।

यस क्रममा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान पनि बनाए। उनले ७३ खेलमै उक्त उपलब्धि हासिल गर्दै मिचेल स्टार्क को ७७ खेलको कीर्तिमान तोडे। नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

यस जितअघि सातौं स्थानमा रहेको नेपाल २७ खेलबाट २२ अंकसहित पाँचौं स्थानमा पुगेको छ। समान २२ अंक भए पनि रनरेटमा पछि पर्दै नामिबिया छैटौं स्थानमा छ। क्यानडा २१ अंकसहित सातौं तथा यूएई १४ अंकसहित पुछारमा रहेका छन्।

यता, पराजयपछि पनि स्कटल्यान्ड ३१ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमै कायम छ। अमेरिका ३६ अंकसहित दोस्रो, ओमान ३१ अंकसहित तेस्रो तथा नेदरल्याण्ड्स २८ अंकसहित चौथो स्थानमा छन्।

नेपालले अब शृंखलाको अन्तिम खेल शुक्रबार अमेरिकाविरुद्ध खेल्नेछ।

प्रकाशित: ४ जेठ २०८३ १५:३२ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast