काठमाडौँ- परराष्ट्र मन्त्रालयले नेपाली युवा अमृत झालाई इरानले रिहा गरेको भन्ने गलत सूचना सम्प्रेषण भएको बताउँदै माफी मागेको छ।
केही दिनअघि परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्री शिशिर खनालले इरानको नियन्त्रणमा रहेका नेपाली युवा झा रिहा भएको भन्ने सूचना सार्वजनिक गरेका थिए।
तर, झा इरानकै नियन्त्रणमा रहेको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले माफी मागेको हो।
‘इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ,’ परराष्ट्रले सोमबार विज्ञप्ति निकालेर भनेको छ।
गत १५ अप्रिलमा इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तियाईले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको भनेर लिखित जानकारी पठाएको र त्यही सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले अनौपचारिक विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भनिएको छ।
परराष्ट्रमन्त्री खनालले समेत सामाजिक सञ्जालमार्फत यो विषयलाई सार्वजनिक गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तर, त्यसको केही दिनपछि प्राप्त भएको जानकारीअनुसार झा रिहा भइनसकेको र अदालतले उनको मुद्दामा ‘विज्ञ प्रतिवेदन’ मा गरेको खुलेको परराष्ट्रको भनाइ छ।
परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय झाको मुद्दाका लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने प्रक्रियामा रहेको छ।
मन्त्रालयले झाका परिवारलाई मन्त्रायलमै बोलाएर पछिल्लो वस्तुस्थितिबारे जानकारी गराएको जनाएको छ। इरानको स्थानीय कानुनअनुसार मुद्दाको निरुपण हुने भए तापनि झाको निष्पक्ष सुनुवाइ र सुरक्षित नेपाल फिर्तीका लागि उपलब्ध सबै माध्यम प्रयोग गरी निरन्तर कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ।
झा इरानको केशम टापुमा अवैध सामान तस्करीको आरोपमा पक्राउ परेका थिए। उनी हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका छन्।
मन्त्रालयका अनुसार अमेरिका–इजरायल–इरान द्वन्द्व सुरू हुनुअघि झासहित ६ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।




