पाठ्यक्रम परिमार्जन गर्न स्वास्थ्य मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण

हिमाल प्रेस ३ भदौ २०८२ १७:२४ | Tuesday, August 19, 2025
पाठ्यक्रम परिमार्जन गर्न स्वास्थ्य मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानूकुल, वैज्ञानिक र प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जनका लागि तयार पारेको समीक्षा प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरेको छ।

आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उक्त प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई हस्तान्तरण गरे। स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उक्त प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदनले कक्षा १ देखि १२ सम्मको वर्तमान स्वास्थ्य पाठ्यक्रमको विस्तृत समीक्षा गर्दै बदलिँदो जीवनशैली, स्वास्थ्य चुनौती र राष्ट्रिय स्वास्थ्य नीतिहरूलाई समेट्ने गरी पाठ्यक्रम सुधारका लागि सुझावहरू सिफारिस गरेको छ।

मन्त्री पौडेलले नागरिकलाई स्वस्थ जीवनशैलीको बानी विकास गर्ने पहिलो आधार र जग विद्यालय शिक्षा भएको बताउँदै स्वास्थ्य र शिक्षा मन्त्रालयबीचको समन्वयले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

उनले भने,‘स्वास्थ्य केवल अस्पतालमा उपचार गर्ने विषय मात्र होइन, यो हरेक घर र विद्यालयबाट सुरु हुने चेतना हो। हाम्रा बालबालिकालाई सानै उमेरदेखि सही स्वास्थ्य जानकारी दियौँ भने उनीहरू आफ्नो र परिवारको मात्र होइन, सिङ्गो समाजकै स्वास्थ्यका लागि परिर्वतनका संवाहक बन्न सक्छन्।’

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले स्वास्थ्य मन्त्रालयको अग्रसरतामा तयार पारिएको प्रतिवेदनबारे प्रशंसा गर्दै स्वास्थ्यजस्तो प्राविधिक र संवेदनशील विषयमा सम्बन्धित मन्त्रालयबाटै प्राप्त सुझावहरू अत्यन्त मूल्यवान् रहेको बताए।

प्रकाशित: ३ भदौ २०८२ १७:२४ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast