बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

हिमाल प्रेस ३१ साउन २०८२ ११:२४ | Saturday, August 16, 2025
बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक फाइल तस्बिर

काभ्रे- बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली-सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ।

कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अनुरोधसमेत गरेको छ।

गतसाल असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडक नै बगाएको थियो। सडक बगाएपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ।

बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो । रासस

प्रकाशित: ३१ साउन २०८२ ११:२४ | Saturday, August 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast