पाकिस्तानलाई कडा जबाफ दिने मोदीको चेतावनी

हिमाल प्रेस ३० साउन २०८२ १३:१३
12
SHARES
पाकिस्तानलाई कडा जबाफ दिने मोदीको चेतावनी भारतको स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नयाँदिल्लीमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। तस्बिर : एपी/रासस

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भविष्यमा भारतमाथि आक्रमण भएमा पाकिस्तानलाई सजाय दिने चेतावनी दिएका छन्। बेलायती औपनिवेशिक शासनबाट स्वतन्त्र भएको ७९ वर्षका अवसरमा शुक्रबार मोदीले पाकिस्तानलाई चेतावनी दिँदै भने, ‘भविष्यमा भारतमाथि आक्रमण भएमा भारतले छिमेकीलाई सजाय दिनेछ।’

मोदीको टिप्पणी आणविक हतियारयुक्त प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच तीन महिनाअघि भएको चार दिनको युद्धपछि आएको हो। त्यसलाई भारत-पाकिस्तानबीच दशकमै सबैभन्दा भीषण संघर्षका रूपमा लिइएको छ।

१७औँ शताब्दीमा बनेको नयाँदिल्लीस्थित मुगलकालीन लालकिल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै मोदीले भने, ‘भारतले आतंककारी र आतंकलाई समर्थन गर्नेबीच भिन्न व्यवहार नगर्ने एउटा मानक स्थापित गरेको छ। हामी इस्लामाबादको भनाइअनुसारको परमाणु धम्की सहन तयार छैनौँ।’

मोदीले भारतले परमाणु धम्की सहनेछैन भन्ने निर्णय गरिसकेको बताए। उनले भने, ‘लामो समयदेखि परमाणु ‘ब्ल्याकमेल’ हुँदै आएको थियो तर अब यो ‘ब्ल्याकमेल’ सह्य हुनेछैन।’

पाकिस्तानले भारतले गरेको परमाणु धम्कीबारेको टिप्पणीलाई उक्साहटपूर्ण र भड्काउ भएको भन्दै अस्वीकार गर्दै आएको छ।

भारतले आफ्नो स्वतन्त्रता दिवस पाकिस्तानभन्दा एक दिनपछाडि मनाउँछ। यी दुवै राष्ट्र १९४७ मा ब्रिटिस भारतको रक्तपातपूर्ण विभाजनको परिणामस्वरूप अस्तित्वमा आएका हुन्।

भारत र पाकिस्तानले मे महिनामा एकअर्कामाथि प्रतिशोधस्वरूप सैन्य आक्रमण गरेका थिए। जसले दुवै देशलाई युद्धको किनारसम्म पुर्‍याएको थियो। दुई देशबीचको यो संघर्ष अप्रिलमा भारतीय नियन्त्रणको कस्मिरमा बन्दुकधारीद्वारा गराइएको नरसंहारपछि सुरु भएको हो। घटनामा अधिकांश हिन्दु पर्यटकसहित २६ जनाको मृत्यु भएको थियो। भारतले यो आक्रमण पाकिस्तान समर्थित आतंककारीहरूले गरेको आरोप लगायो। इस्लामाबादले भने जिम्मेवारी अस्वीकार गर्दै तटस्थ छानबिनको माग गर्दै आएको छ।

पाकिस्तानले त्यसको प्रतिक्रिया स्वरूप भारततर्फ लगातार ड्रोन पठाएको थियो। साथै क्षेप्यास्त्र र तोपबाट बमबारी गर्‍यो। दुवै पक्षमा दर्जनौँ मानिसको मृत्यु भयो। अमेरिकाको मध्यस्थतापछि १० मेमा युद्धविराम हुनासाथ संघर्ष अन्त्य भएको थियो।

पाकिस्तानले भिडन्तका क्रममा छवटा भारतीय विमान खसालेको दाबी गरेको थियो। जसमा एउटा फ्रान्स निर्मित राफाल लडाकु विमान पनि थियो। भारतले केही क्षति भएको स्वीकार गरे पनि विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरेको छैन।

गत सातामात्रै भारतीय वायु सेनाका प्रमुखले भारतले भिडन्तका क्रममा पाँचवटा पाकिस्तानी लडाकु विमान र अर्को एउटा सैन्य विमान खसालेको दाबी गरेका छन्। भारतका तर्फबाट गरिएको यो पहिलो सार्वजनिक दाबी हो। पाकिस्तानले यसलाई अस्वीकार गर्दै दुवै पक्षले आफ्ना विमान सूची स्वतन्त्र प्रमाणीकरणका लागि खुला गर्नुपर्नेमा जोड दिएको छ।

शुक्रबारको भाषणमा मोदीले भारत ‘इन्डस वाटर ट्रीटी’ को एकपक्षीय स्थगन जारी राख्ने संकेत गरे। अप्रिलको नरसंहारपछि भारतले सिन्धु नदीसँगको सम्झौता स्थगित गरेको थियो। सम्झौताले दक्षिण एसियामा करिब २,८९७ किलोमिटर (१,८०० माइल) यात्रा गर्ने सिन्धु नदी दुवै देशका लागि जीवनरेखाझैँ महत्त्वपूर्ण छ।

मोदीले भने, ‘भारतका नदीले शत्रुको भूमिमा सिँचाइ गरिरहेका थिए, जबकि मेरो देशका किसान र जमिन पानीको अभावमा छन्। भारतले अब निर्णय गरिसकेको छ कि रगत र पानी सँगै बग्ने छैन।’

पाकिस्तानले भने पानी रोक्ने वा पाकिस्तानतर्फ जाने पानीको दिशा परिवर्तन गर्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य’ मानिने बताएको छ।

मोदीले भाषणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएको भन्सार महसुलबारे प्रत्यक्ष उल्लेख नगरे पनि कृषि क्षेत्रका विषयमा सम्झौता नगर्ने बताएका छन्। जसलाई अमेरिकी–भारतीय व्यापार वार्ताका मुख्य विवादित बिन्दुमध्ये एक मानिन्छ।

यस महिना सुरुमा ट्रम्पले भारतमाथि तेल र हतियार खरिदमा २५ प्रतिशत अतिरिक्त महसुल लगाएका थिए। यसअघि नै २५ प्रतिशत शुल्क लागू गरिएको थियो।

मोदीले भारतको जनसंख्या संरचना अवैध आप्रवासनमार्फत परिवर्तन हुँदै गएको दाबी गर्दै यस समस्या समाधान गर्न उच्चस्तरीय जनसंख्या मिसन सुरु गरिएको घोषणा गरे। उनले यसबारे थप विवरण दिएका छैनन्।
उनले भने, ‘संसारको कुनै पनि राष्ट्रले आफैँलाई भित्र पस्ने अनधिकृत व्यक्तिहरूको नियन्त्रणमा दिन सक्दैन।’

मोदीको सत्तारूढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले बारम्बार बंगलादेशबाट अवैध आप्रवासीहरूको आगमनलाई ‘राष्ट्रिय सुरक्षा संकट’ भन्दै आएको छ। उक्त देशबाट अनियन्त्रित मुस्लिम आप्रवासनले भारतको जनसंख्या परिवर्तन हुँदै गएको दाबी गरेको छ। एपी/रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast