शिक्षाबारे प्रधानमन्त्रीले संसद्‌मा गरे ब्रिफिङ, नतिजा सुधार, ४९ विद्यालय पुनर्निर्माण, ६ हजार ५०६ शिक्षक नियुक्त

हिमाल प्रेस २८ साउन २०८२ १५:३१
2.3k
SHARES
शिक्षाबारे प्रधानमन्त्रीले संसद्‌मा गरे ब्रिफिङ,  नतिजा सुधार, ४९ विद्यालय पुनर्निर्माण, ६ हजार ५०६ शिक्षक नियुक्त प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा वर्तमान सरकारले एक वर्षमा हासिल गरेका उपलब्धिहरू संसद्मा प्रस्तुत गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले विद्यालय संरचना निर्माणदेखि शिक्षक नियुक्ति, विद्यार्थीको शैक्षिक नतिजामा सुधार, मातृभाषामा पाठ्यक्रम विकास, स्वास्थ्य र करियर मार्गनिर्देशनजस्ता कार्यक्रमलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरे।

प्रधानमन्त्रीका अनुसार कक्षा १२ को परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको दर ९.०२ प्रतिशतले वृद्धि भई ६१.१७ प्रतिशत पुगेको छ। त्यस्तै, ३.२ वा सोभन्दा माथि जीपीए प्राप्त गर्ने विद्यार्थीको प्रतिशत १७.४९ मा पुगेको छ जुन अघिल्लो वर्षभन्दा ३.०४ प्रतिशतले बढी हो। कक्षा ८ उत्तीर्ण गर्ने दर १.७ प्रतिशत बढेर ८२ प्रतिशत पुगेको छ भने माध्यमिक तहको भर्नादर पनि १.७ प्रतिशतले वृद्धि भई ५९.६ प्रतिशतमा पुगेको छ।

उनले पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लामा ४९ विद्यालय पुनर्निर्माण र १४४ नयाँ कक्षाकोठा निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए। दुई हजारभन्दा बढी विद्यार्थी संख्या भएका ४२ विद्यालयमा सुविधासम्पन्न भवन निर्माण भइरहेको छ।

शिक्षक भर्ना क्षेत्रमा खुल्ला प्रतियोगिताबाट ६ हजार ५०६ जना स्थायी शिक्षक नियुक्त गरिएको उनले बताए। यसले शिक्षण सिकाइमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

कक्षा ९ र १० मा अध्ययनरत २९ हजार ७४६ विद्यार्थीलाई करियर काउन्सेलिङ कार्यक्रम सञ्चालन गरिएको छ। साथै, हालसम्म ३३ मातृभाषामा पाठ्यक्रम र नमुना पाठ्यपुस्तक विकास गरिएको छ।

जुम्ला, मुगु र हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ जससँगै साक्षर जिल्लाको संख्या ६७ पुगेको छ। यसै अवधिमा सुदूरपश्चिम प्रदेश साक्षर प्रदेशका रूपमा घोषणा भएको छ।

प्रधानमन्त्री ओलीले शिक्षामा भौतिक पूर्वाधार, शिक्षक जनशक्ति, मातृभाषा शिक्षा र शैक्षिक नतिजामा आएको सुधारलाई सरकारको प्राथमिकतामध्ये एक भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast