कांग्रेस वातावरण विभाग प्रमुख गुरुङ भन्छन्- डिप बोरिङ पानी अभाव पूर्ति गर्ने स्थायी समाधान होइन

हिमाल प्रेस १५ साउन २०८२ १४:५९ | Thursday, July 31, 2025
कांग्रेस वातावरण विभाग प्रमुख गुरुङ भन्छन्- डिप बोरिङ पानी अभाव पूर्ति गर्ने स्थायी समाधान होइन

ललितपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान नभएको बताएका छन्। उनले पानीको अभाव रोक्न दीर्घकालीन स्थायी समाधान खोज्नुपर्ने बताए।

वर्षायाममा समेत पानी नपरेको कारण हालै तराईका जिल्लामा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले डिप बोरिङ गरेर पानीको समस्या समाधान गर्ने बताएसँगै गुरुङले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

‘तराई र पहाडमा पानीको सतह दिनदिनै तल जाँदैछ, डिप बोरिङले पानीको सतह अझै तल लान्छ, जमिन खोक्रो बनाउँछ, जमिन भासिएर थप जोखिम निम्तिने अवस्था आउँछ, डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने अस्थायी समाधान होला, तर स्थायी समाधान होइन’, उनले भने।

उनले जमिनको क्षयीकरणसँगै पानीको सतह झनै घट्न गई भविष्यमा पानीको अभाव बढ्न सक्ने र मरुभूमिकरण हुनसक्ने जोखिमबारे सचेत गराए। ‘भविष्यमा पानीको सतहलाई माथि उकास्न, पानीको अभाव हुन नदिन र जमिनलाई मरुभूमिकरणको जोखिमयुक्त सम्भावनाबाट जोगाउन वृक्षरोपण अनिवार्य हुन्छ। तसर्थ नदी, खोला र खोल्साको दुवै किनारामा तराईमा १०० मिटर र पहाडमा १०० फिट बाँस, नर्कटलगायतका स्थानीय प्रजातिका बोट बिरुवा रोप्नुपर्छ। खोलाको ढुंगा बालुवा निकाल्न दिनु हुँदैन’, उनले भने।

उनले नदीको क्षयीकरण रोक्न संघीय सरकारले कडा कानुन बनाएर लागू गराउनुपर्ने जोड दिए। गुरुङले यस विषयमा कार्ययोजना बनाएर लागू गर्न, कानुनी प्रबन्ध गर्न प्रधानमन्त्री, वन तथा वातावरणमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलगायतलाई विभागले आफ्नो धारणा प्रस्तुत गर्ने बताए।

प्रकाशित: १५ साउन २०८२ १४:५९ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast