नेपाल-चीन सहकार्यमा विद्युतीय सवारी मर्मत तालिम केन्द्र स्थापना हुने

हिमाल प्रेस १५ साउन २०८२ १०:१३ | Thursday, July 31, 2025
नेपाल-चीन सहकार्यमा विद्युतीय सवारी मर्मत तालिम केन्द्र स्थापना हुने

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग चीन अटोमोटिभ मर्मतसम्भार र मर्मत व्यापार संघ बेइजिङ तथा मदन भण्डारी मेमोरियल कलेजका प्रतिनिधिहरूले बुधबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा नेपालमा विद्युतीय सवारी साधनको मर्मतसम्बन्धी तालिम केन्द्र स्थापना गरी सहकार्य गर्न चीन इच्छुक रहेको जानकारी दिइएको छ। कलेजका प्रमुख डा. बाबुराम अधिकारीले उक्त तालिम कार्यक्रम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को समन्वयमा सञ्चालन गरिने जानकारी गराउँदै चीन पक्षबाट आवश्यक सहयोग सुनिश्चित भइसकेको बताएका छन्।

संघका अध्यक्ष झाङ यान्जुआले नेपालमा तीन वर्षभित्र ५ हजार दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित तालिम केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका छन्।

सो जनशक्ति एशियाली श्रम बजारमा समेत प्रतिस्पर्धी बन्न सक्ने विश्वास व्यक्त गर्दै उनले चीनले विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकतामा राखेकाले यस क्षेत्रको मर्मतमा दक्ष जनशक्ति आवश्यक भएको उल्लेख गरे।

शिक्षामन्त्री पन्तले चीनका विद्युतीय सवारी साधन नेपालमा व्यापक रूपमा प्रयोगमा आइसकेको र चीन यस क्षेत्रमा अग्रणी मुलुक भएकाले यस्तो सहकार्य महत्वपूर्ण हुने धारणा राखे। उनले मन्त्रालयको तर्फबाट आवश्यक समन्वय र सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे।

मन्त्री पन्तले चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरूबारे समेत चर्चा गर्दै भविष्यमा शैक्षिक क्षेत्रका विविध पक्षमा द्विपक्षीय सहकार्यको थप सम्भावना रहेको बताए। साथै, मदन भण्डारी मेमोरियल कलेजको अनुभवी नेतृत्व र संस्थाको प्रविधिक क्षमताले संयुक्त प्रयासलाई सफल बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित: १५ साउन २०८२ १०:१३ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast