
काठमाडौँ- तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले महिला शिक्षकबीचको समस्या समाधान तथा पेसागत सुधारका लागि सञ्चालन गरिएको ‘महिला शिक्षकसँग उपमेयर’ कार्यक्रम प्रभावकारी रहेको बताएकी छन्। यसबाट नजितामा सुधार आएको उनले बताइन्।
बिहीबार पत्रकारहरूसँगको अन्तक्रियामा बोल्दै उपमेयर बुर्लाकोटीले सामुदायिक विद्यालयका महिला शिक्षकबीच आपसी संवादको अभाव रहँदा त्यसको प्रभाव विद्यार्थीको नतिजामा देखिएको बताइन्। ‘शिक्षकहरू एक आपसमा समस्या साझा गर्दैनन्। स्थायी शिक्षकहरूमा जिम्मेवारीबोधको कमी छ भने नगर अनुदानका शिक्षकहरू पेसाको स्थायित्वमा चिन्तित हुन्छन्’ उनले भनिन्।
कार्यक्रमको सुरुवातमा पालिकाभित्रका २३ वटै सामुदायिक विद्यालयका १७५ जना महिला शिक्षक सहभागी रहेको जानकारी दिँदै उनले हाल त्यो संख्या २ सय नाघेको बताइन्। प्रारम्भिक बाल विकासदेखि माध्यमिक तहसम्मका शिक्षकबीच सहकार्य, सिकाइको आदानप्रदान र आपसी सम्बन्ध मजबुत बनाउन यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।
बुर्लाकोटीले केही शिक्षकले समयमै विद्यालय नपुग्ने, ड्रेस मेन्टेन नगर्ने, कक्षामा प्रस्तुत हुन नजान्ने जस्ता समस्या देखिएको भन्दै त्यसको समाधानका लागि काउन्सिलिङ र अभिमुखीकरण कक्षा सञ्चालन गरिएको बताइन्। ‘शिक्षक ११ बजे लर्खरलर्खर विद्यालय पुगेको पनि देखियो। त्यसपछि मैले मेयरसँग मिलेर ओरियन्टेसन कक्षा राख्ने प्रस्ताव पेस गरेँ,’ उनले भनिन्।
महिला शिक्षकले घरको जिम्मेवारीसँगै पेसागत जिम्मेवारी पूरा गर्नुपरेको अवस्था रहेको बताउँदै उनले महिलामैत्री शिक्षण वातावरण बनाउनु आवश्यक रहेको धारणा राखिन्। विद्यालयमा गुणस्तरीय स्यानिटरी प्याडको समस्या समाधानतर्फ पनि नगरपालिका गम्भीर रहेको उनले बताइन्। ‘अब प्याडको गुणस्तर मापन नगरी वितरण नै गर्दैनौं,’ उनले भनिन्।
उक्त कार्यक्रमले महिला शिक्षकबीच आत्मीयता बढाएको, शिक्षामा लगानीबारे जानकारी पुर्याएको र समग्र पेसागत सुधारमा टेवा पुर्याएको बताउँदै आगामी दिनमा कार्यक्रमलाई अझ विस्तार गरिने जानकारी उनले दिइन्।