आज एकीकृत समाजवादीमा प्रवेश गर्दै वामदेव, एमालेसँगको ‘झोलमोल’ अन्त्य

हिमाल प्रेस २ साउन २०८२ ७:१९
84
SHARES
आज एकीकृत समाजवादीमा प्रवेश गर्दै वामदेव, एमालेसँगको ‘झोलमोल’ अन्त्य फाइल तस्बिर।

काठमाडौँ- लामो समयदेखि नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमध्ये कुन पार्टीमा समाहित हुने दुविधामा रहेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका छन्। काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आज एकता घोषणा सभा हुँदैछ।

गत असार २७ गते, माधवकुमार नेपाल र गौतमले एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका थिए। आजको सभामा माधव नेपाल, झलनाथ खनाल र गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। एकतापछि बन्ने नयाँ पार्टीमा गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा राख्ने सहमति भइसकेको छ।

२०७७ साल पुस २५ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता सर्वोच्च अदालतले विघटन गरेपछि गौतमले नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए। त्यसपछि उनी कहिले एमालेमा फर्किने, कहिले नयाँ दल बनाउने र कहिले समाजवादीमा प्रवेश गर्ने भन्ने अन्योलबीच घुमिरहे।

पछिल्लो महिनाहरूमा वामदेवले नेकपा समाजवादीमा प्रवेश गर्ने तयारी तीव्र पारेका थिए। उनले स्वयं आलोकनगरस्थित समाजवादी पार्टी कार्यालय पुगेर माधवसँग सहमति पनि गरेका थिए। माधवले गौतमको पार्टी प्रवेश सुनिश्चित गर्न वरिष्ठ नेता प्रमेश हमालको नेतृत्वमा कार्यदलसमेत बनाएका थिए। गौतमले पनि आफ्नातर्फबाट डीबी कार्कीको नेतृत्वमा कार्यदल बनाए।

तर समाजवादीमा प्रवेशका सन्दर्भमा गौतमले धेरै पद माग गरेको आरोप पनि लाग्यो। उनले आफ्ना पत्नी तुलसा थापा, डीबी कार्कीसहित १७ जनालाई केन्द्रीय कमिटीमा लैजानुपर्ने माग राखेका थिए। समाजवादी पक्षले भने तीन जनालाई मात्र केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेपछि उनले केही समय पछि हटेजस्तो देखिएको थियो।

त्यसै, बीचमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट बढाएका थिए। एमालेमा प्रवेशको आशय व्यक्त गरे पनि ओलीले उनलाई तत्काल कुनै जिम्मेवारी नदिने संकेत दिए। एमाले सचिवालय बैठकले पनि औपचारिक प्रवेश नदिई ‘सहकार्य गर्ने’ भनिएको मात्र थियो। एमालेका नेताहरूले वामदेवलाई ‘पेन्डुलम नेता’ बनाउने रणनीति अपनाएको आरोपसमेत लागेको थियो।

गौतमको पछिल्लो निर्णयले एमालेसँगको दोधार अन्त्य भएको छ। आजको एकता घोषणासँगै उनले आफूले सुरु गरेको नेकपा एकता राष्ट्रिय अभियान पनि नेकपा समाजवादीमा विलय गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast