शिक्षा ऐनको मागमा प्रदर्शन, नेविसंघका १० कार्यकर्ता बानेश्वरबाट पक्राउ

हिमाल प्रेस ३० असार २०८२ ११:१२
446
SHARES
शिक्षा ऐनको मागमा प्रदर्शन, नेविसंघका १० कार्यकर्ता बानेश्वरबाट पक्राउ

काठमाडौँ- शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० जना कार्यकर्तालाई नेपाल प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको छ।

नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा आयोजित प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

नेविसंघले विद्यार्थीको प्रतिनिधित्वबिना विश्वविद्यालय सिनेट बैठक मान्य नहुने, शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने र शिक्षा विधेयक शिक्षक तथा विद्यार्थीमैत्री हुनुपर्ने मागसहित आन्दोलन चर्काइरहेको छ।

उता नेपाल शिक्षक महासंघले पनि विगतका सबै सहमति समावेश नभएको भन्दै विद्यालय शिक्षा विधेयकप्रति असन्तोष व्यक्त गर्दै पुनः आन्दोलनको चेतावनी दिएको छ। २०८२ असार १५ भित्र विधेयक पारित गर्ने सहमति विपरीत सरकारले अहिलेसम्म विधेयक पेस नगरेको भन्दै महासंघले आक्रोश व्यक्त गरेको हो।

महासंघको विज्ञप्तिमा भनिएको छ,‘सरकार शिक्षक–कर्मचारीको भावना र अघिल्ला सहमति भुलेको छ। अहिलेको विधेयकले स्थायी–अस्थायी शिक्षकको व्यवस्थापन, सरुवा, बढुवा, द्वन्द्वपीडित शिक्षक समस्या लगायत विषयमा कुनै गम्भीरता देखाएको छैन।’

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्थायी प्रकृतिका शिक्षकहरूलाई ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति दिने प्रावधानसहित विधेयकमाथि छलफल अघि बढाए पनि यसले समग्र शिक्षक आन्दोलनको मर्म नसमेटेको महासंघको ठहर छ।

प्रकाशित: ३० असार २०८२ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast