पञ्चशीलका सिद्धान्तमा आधारित हाम्रो सम्बन्ध अतुलनीय छ : प्रधानसेनापति

हिमाल प्रेस २७ असार २०८२ २१:२१ | Friday, July 11, 2025
पञ्चशीलका सिद्धान्तमा आधारित हाम्रो सम्बन्ध अतुलनीय छ : प्रधानसेनापति

काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध पनि उत्तिकै सुमधुर रहेको बताएका छन्।

जनमुक्ति सेना स्थापनाको ९८ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी ल्यु चङजङले आयोजना गरेको स्वागत समारोहमा उनले कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा जनमुक्ति सेनाले गरेको सहयोग नेपाली सेनाले सदैव सम्झने बताए।

विपद् व्यवस्थापन र उद्धारमा जनमुक्ति सेनाका माध्यमबाट चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानसेनापति सिग्देलले जनमुक्ति सेना र नेपाली सेनाबीच संयुक्त सैन्यअभ्यासका साथै अन्य पारस्परिक हित र चासोका साझा विषयमा सधैँ सहकार्य भइरहेको बताए।

नेपालका लागि चीनका राजदूत छन सङले जनमुक्ति सेना प्रभुत्ववादविरुद्ध रहेको चर्चा गर्दै उनले शान्ति र साझा भविष्य निर्माणलाई नै मूल मन्त्र मानेर आफ्नो देशको फौजले काम गरिरहेको बताए।

राष्ट्रपति सी चीनफिङको सबल नेतृत्वमा जनमुक्ति सेनाले विश्वशान्ति र विकासका खातिर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पूर्णप्रतिबद्धताका साथ काम गरिरहेको बताउँदै उनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ तुल्याउन आफू क्रियाशील रहेको उल्लेख गरे।

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा यो वर्ष दुवै देशका शीर्ष नेतृत्वको अगुवाइमा सहकार्य, साझेदारी र सहयोग आदानप्रदानका कार्यक्रम कार्यान्वयन भइरहेको चिनियाँ राजदूतले बताए।

सैनिक सहचारी ल्युले संयुक्त राष्ट्रसंघको आह्वानमा जनमुक्ति सेनाले द्वन्द्वग्रस्त विश्वका विभिन्न मुलुकमा काम गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय सुरक्षा र मानवीय सहयोगलाई पनि सेनाले समान प्राथमिकता दिएको जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ब्रिफिङ भएकाले प्रधानसेनापति सिग्देल कार्यक्रममा ढिलोगरी पुगेका थिए।

प्रकाशित: २७ असार २०८२ २१:२१ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast