
काठमाडौँ- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) अझै व्यवस्थित ढंगबाट आयोजना हुने बताएका छन्।
खेलकुद मन्त्रालयले आयोजना गरेको ‘युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा मन्त्री चौधरीले यस्ता बताएका हुन्। उनले विभिन्न विवादका बाबजुद पनि एनपीएल आयोजना हुने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक कार्यक्रममा खेलकुद क्षेत्रमा कसैलाई पनि राजनीति नगर्न आग्रह गरेका थिए। उनले खेलकुदमन्त्री चौधरीतर्फ इंकित गर्दै सरकारमा राजनीतिक दलका नेताहरुको प्रतिनिधि हुने भए पनि खेलकुद क्षेत्रमा भने कसैले पनि राजनीति गर्न नहुने बताएका थिए।
एनपीएलको पहिलो संस्करण सम्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। त्यसपछि अख्तियारले आवश्यक कारबाहीका लागि खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो।
एनपीएलको दोस्रो संस्करणको सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र क्यानबीच विवाद चलिरहेको छ। एनपीएलको हिसाबकितालाई लिएर दुई निकायबीच विवाद सुरू भएको हो।
मन्त्री चौधरीले एनपीएलको विवाद अनुसन्धान गर्न राखेप सदस्य रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेका छन्। यो कार्यदलले अख्तियारले छानबिन पूरा नगरेसम्म एनपीएलको काम रोक्न निर्देशन दिएको छ।
कार्यदलको निर्देशनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले क्यानलाई एनपीएलको तयारी गर्न निर्देशन दिएका थिए।
मन्त्री चौधरीले त्यसको अख्तियारलाई प्रतिउत्तर पठाइसकेको बताएका छन्। उनले भने,‘हामीसँग खरिद आदेश ऐन र नियमावली छ, खेलकुद विकास ऐन, २०७५ छ, खरिद आदेश मान्ने कि नमान्ने? त्यसकारण एनपीएल हुन्छ, तर व्यवस्थित तरिकाबाट हुन्छ।’
चौधरीले ऐन/कानुन र नियमावलीको परिधिभित्र रहेरै एनपीएल हुने बताए।