फेवातालमा झण्डै एक महिनामा गाडियो ३६० सीमा स्तम्भ

हिमाल प्रेस १२ असार २०८२ २०:२५
8
SHARES
फेवातालमा झण्डै एक महिनामा गाडियो ३६० सीमा स्तम्भ

पोखरा- फेवातालमा झण्डै एक महिनामा ३६० सीमा स्तम्भ गाडिएको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा गत १७ जेठदेखि सीमा स्तम्भहरू गाड्ने कार्यको सुरुआत गरेको थियो। सर्वोच्च अदालतको आदेशअनुसार यसको संरक्षणका लागि तालको पुनः सीमाङ्कनपश्चात् सीमा स्तम्भ गाड्ने जारी रहेको हो।

पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीका अनुसार बिहीबारसम्म ३६० सीमा स्तम्भ गाडिएका हुन्। बिहीबार फेवातालको भकुण्डे माछापोखरी क्षेत्रमा पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण समेत गरे। उनले फेवाताल संरक्षण सम्बन्धमा सर्वोच्चको आदेशानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यक कार्यहरू गरिरहेको बताए। ताल घरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उनले हौसला प्रदान गरेका थिए। बाटो असुविधा रहेको ठाउँमा सीमा स्तम्भ गाड्नका लागि मजदुरहरुले गह्रौँ सीमा स्तम्भ बोकेरै पुर्‍याउने गरेका छन्।

तालको ६ दशमलब ३४३ वर्ग किलोमिटर क्षेत्रफलको चारकिल्लामा १ हजार ५५ वटा पोलहरू गाड्ने योजना छ। पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा तालघरमा पर्ने जग्गाको अवस्था अध्ययन गरी मुआब्जा दिनपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ साल अघि तथा पछिको दर्ता, भौतिक संरचनाको अवस्था लगायतको यकिन गरिने योजना छ।

पछिल्लो समय फेवाताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा पर्दै जाँदा यसको आकार घट्दो छ। सीमा स्तम्भ गाड्ने कार्यले ताल संरक्षण हुनुका साथै पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्व राख्ने विश्वास गरिएको छ।

ताल संरक्षणका लागि सर्वोच्चको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तत्कालका लागि चारै दिशातर्फ सीमा स्तम्भ गाड्ने निर्णय गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए। उनले अदालतको फैसला कार्यान्वयनका लागि बाँकी कामहरू क्रमशः गर्दै जाने योजना पनि रहेको जनाए। तालको पछिल्लोपटक पुनः नापजाँच गरी यथार्थ अवस्थाबारे विवरण यकिन गरिएको छ।

प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वेमार्फत् डिटेल सर्वेक्षण गरेको थियो। जसमा २९ मुख्य आधार विन्दुहरू कायम गरी ४० सेमी उचाइका २९ पिल्लर जमिनमुनि गाडिएका छन्। यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएको छ।

सिँचाइ डिभिजन कार्यालय कास्कीको १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययनपश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४ दशमलब ९५ मिटर कायम गरिएको हो। उक्त विन्दुलाई हाई फ्लोड लेभल आधार मान्दा तालघर ६ दशमलब ३४३ वर्ग किमी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ। सर्वोच्चले तोकेको ६५ मिटरसमेतको कुल क्षेत्रफल ७.६१६ वर्ग किमी अर्थात् १४ हजार ९७० रोपनी ५ आना २ दाम कायम हुने मेयर आचार्यले बताए।

गत ४ असार २०८० मा सर्वोच्चले नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा तालको यथार्थ अवस्थाको अध्ययन गरी पानीको उच्चतम् विन्दुबाट ६५ मिटरको मध्यवर्ती क्षेत्र घोषणा गरी पूर्णरूपले हरियाली प्रवर्द्धन  गर्नू गराउनू भनी उत्प्रेषणयुक्त परमादेश दिएको थियो। ६५ मिटर मापदण्ड कार्यान्वयन भए करिब ५ सय संरचना भत्काउनुपर्छ।

प्रकाशित: १२ असार २०८२ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast